+
Search

ताजा अपडेट +

पपुलर +

दशौँ झिल्टुङ क्रसकन्ट्री दौड हुँदै

Preparations for the 10th Jhiltung Cross-Country Running Competition
डबली खबर
४ महिना अगाडी

१६ पुस, कोल्पुटार । देशकै चुनौतीपूर्ण तथा प्रतिष्ठित दौडमध्ये मानिने दशौँ झिल्टुङ क्रसकन्ट्री दौड यहि माघ ८-१० गते आयोजना हुने भएको छ।

नगरपालिकाको आयोजना तथा एथलेटिक्स परिवार नेपालको सहजीकरण र प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताले राष्ट्रिय तथा स्थानीय खेलाडीलाई एकै मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर दिने जनाएको छ।

बुधबार कोल्पुटारमा आयोजित पत्रकार सम्मेलनमा दौडका संस्थापक मोहन नेपालले दौडमा खुला पुरुष तथा महिला, पुरुष भेट्रान र स्थानीय पुरुष समूहका खेलाडीले १३.४ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने जानकारी दिए । विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जानकारी दिए ।

संस्थापक नेपालले स्थानीय समुदायको निरन्तर सहयोगले प्रतियोगिता सफल हुँदै आएको बताउँदै झिल्टुङ दौड आफ्नो पहिचानसहित स्थापित भइसकेको बताए।

स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले यू–१८ र यू–१६ छात्र/छात्रा, आमा/बुवा समूह लगायतका स्पर्धा पनि समावेश गरिएको छ। ४.५ किलोमिटर दूरीका यी स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः १८ हजार, १२ हजार र ८ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। सहभागीलाई थप आकर्षण दिने गरी यस वर्ष हिंड्दै र गफ गर्दै अर्थात् ‘वाक एण्ड टक’ विधा पनि राखिएको छ।

नुवाकोटका स्थानीय एवम् राष्ट्रियस्तरका धावक सम्मिलित हुने दौड बेलकोटगढी नगरपालिकाको कोल्पुटारबाट सुरु भई विभिन्न भू–भागको परिक्रमा गर्दै पुनः कोल्पुटारमै आएर टुंगिने जनाएको छ।

कार्यक्रममा बोल्दै बेलकोटगढी नगरपालिका प्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले क्रसकन्ट्री दौडलाई आगामी संस्करणदेखि अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तर र नयाँ विधासहित विस्तार गर्ने योजना रहेको बताए।

@dabalikhabar “जे गरौ मज्जाले गरौ” भन्ने मूल नाराका साथ दशौँ झिल्टुङ्ग क्रसकन्टी दौड हुन लागेको संस्थापक मोहन नेपालले जानकारी दिए । #dabalikhabar #nuwakot #jhiltung #crosscountry #atheletics #olympic #run ♬ original sound – dabalikhabar

वडा नम्बर ५ का अध्यक्ष मदन भुजेलले चर्चित तथा अनुभवी खेलाडीको सहभागिताले प्रतियोगिताको गरिमा थप उचाइमा पुगेको उल्लेख गरे।

उकालो–ओरालो, प्राकृतिक दृश्य र चुनौतीपूर्ण ट्र्याकले भरिएको झिल्टुङ क्रसकन्ट्री दौडले यस वर्ष पनि साहस, सहनशीलता र गति परख्न चाहने खेलाडीलाई नुवाकोटमा आकर्षित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

दौडमा सहभागिता जनाउन नुवाकोटमा बेलकोटगढी नगरपालिका र काठमाडौंमा एथलेटिक्स परिवार नेपालको कार्यालयमा सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ