काठमाडौं । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपश्चात खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशैभर सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय भएको हो ।
निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभर १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङले ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । सुपल मूल्य पसलमा खाद्यान्नमा प्रतिकिलो १० रुपैयाँसम्म छुट हुनेछ ।
यसवर्ष पनि नुवाकोटलाई आधिकारिक रुपमा सुपथ मूल्य पसल केन्द्रको लागि उपलब्ध गराएको छैन । यद्यपि विदुर नगरपालिकाको बट्टार बसपार्कमा भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको खुद्रा बिक्री केन्द्र छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार सुपथ मूल्य पसलमा सबै किसिमका चामल, गहुँका दाना र चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ । यस्तै, सबै खालका दाल, गेडागुडी (चना, भटमास र केराउसमेत) मा पनि प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ ।
यसैगरी, तोरी, सनफ्लावर र भटमासको तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट उपलब्ध हुनेछ । चिउरा, आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँका दरले नै छुट पाइनेछ । यस्तै, जिरा, धनिया र चियापत्तीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ ।
कर्णालीको सीमी तथा फापर (दाना), चिनो, कागुनो र मार्सी तथा बासमती चामलमा पनि उपभोक्तालाई प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भएको छ ।
जिाउँदो खसी, बोका र च्याङ्ग्रा पनि प्रतिकिलो १० रुपैयाँ छुटमा बिक्री गरिने भएको छ । सबै वस्तुहरुको निःशुल्क होम डेलिभरी सेवा पनि उपलब्ध गराइनेछ ।
यसैगरी, साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्य पसलबाट नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ, तेल, चिउरा, पिठो, मैदा र दाल प्रतिकिलो ७ रुपैयाँ छुटमा उपभोक्तालाई उपलब्ध गराउने निर्णय भएको छ ।