१ माघ, उत्तरगया । रसुवाका मगर समुदायले पहिलोपटक माघी संक्रान्ति तथा माघी पर्व मनाएका छन् । नेपाल मगर सङ्घ जिल्ला समन्वय समितिले मङ्गलबार उत्तरगया गाउँपालिका-५ स्थित कदैलेटारमा एक कार्यक्रम गरी समुदायस्तरमा पर्व मनाएको हो ।
कार्यक्रममा उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले आदिवासी जनजाती समुदायका मानिस पछि पर्नुमा आफ्नै कारणले रहेको बताउँदै समयसापेक्ष समुदायसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने बताईन् । कुनै पनि स्थान वा तहतप्कामा पुग्दा आफ्नो समुदायको उत्थान र हकहितको लागि आवाज उठाउनुपर्ने बताईन् । उपाध्यक्ष गुरुङले सबै जातजातिको धर्म, संस्कृति र परम्परा संरक्षण गर्न गाउँपालिकाले सहयोग गर्ने बताइन्।
कालिका गाउँपालिकाकी उपाध्यक्ष मिरा तामाङ डङ्गोलले आफ्नो जातीयअनुसारको संस्कार मनाउनुपर्ने धारणा राखिन् ।
कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य भगवान राना मगरले मगर समुदायको पहिचान, संस्कृति, रहनसहनलगायतका विषयमा प्रष्ट पार्नुको साथै नीति नियमबारे जानकारी गराएका थिए ।
मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड रहेतापनि खुल्ला रुपमा जिल्लामा पर्व मनाउन नसकिरहेको अवस्थामा यस वर्षदेखि समुदाय मिलेर पहिलोपटक माघी संक्रान्ति मनाएको समितिका अध्यक्ष विक्रम थापा मगरले बताए ।
समुदायको राष्ट्रिय गान, संस्कृति झल्कने पहिरहनमा सजिएर कौरा, चुड्का, घाटु लगायतका नाच प्रस्तुत गरेका थिए । आफ्नै जातीय पहिचान झल्किने भेषभूषा र गरगहना पहिरिएर मगर समुदायका महिला र पुरुष माघी मनाउन जुटेका थिए । आफ्नो संस्कार र संस्कृतिअनुसारको खानपानको पनि बन्दोबस्त गरिएको थियो ।
आफ्नो धर्म, संस्कृति र परम्परा जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने सरोकारवालाहरुले बताए ।
कार्यक्रममा नेपाल मगर सङ्घ रसुवाले समुदायका दुई जेष्ठ नागरिकलाई सम्मान गरेको छ। सम्मानित हुनेमा उत्तरगया गाउँपालिका-५ कदैलेटारकी धनकुमारी रानामगर र कालिका गाउँपालिका-३ धारापानीकी गङ्गाकुमारी मगर रहेका छन् ।
प्रतिक्रिया