८ पुस, नुवाकोट । आरुखर्क माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती भव्य रूपमा मनाएको छ । विद्यालयले आफ्नो ५० वर्षे जन्मोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य अर्जुननरसिंह केसीले विद्यालयको स्वर्ण जयन्तीको अवसरमा प्रकाशित आरुखर्क स्वर्ण पल्लवी स्मारिका विमोचन गरेका छन् । स्मारिकामा विद्यालयको इतिहास र उपलब्धिलाई स्मरण, लेख/रचनालगायतका सामाग्री रहेको छ ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य केसीले विद्यालयभित्र राजनीति नभएर गुणस्तरीय शिक्षा प्रवाह गर्न आग्रह गरेका छन् । शिक्षाको महत्त्व र सामुदायिक सहभागिताबारे धारणा राख्दै शिक्षामा राजनीति प्रवेश गर्न नहुने बताए ।
बागमती प्रदेश सभा सदस्य रामप्रसाद ढुङ्गनाले विद्यालयको शैक्षिकस्तर उकास्न भवन निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले नगरका ५४ विद्यालयहरूको शिक्षास्तर उन्नती र दीर्घकालीन योजनाको खाका तयार गरि कार्यान्वयनको प्रक्रियामा रहेको बताएका छन्।
बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा रहेको विद्यालयका प्रधानाध्यापक सुर्दशन खतिवडाले विद्यालयलाई नगरपालिकाको सर्वोत्कृष्ट विद्यालय बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिक्रिया