विदुर – नेपाल रेडक्रस सोसाइटी नुवाकोटले स्थापना गरेको एक करोड अभियानमा ५२ लाख ४७ हजार ६६१ रुपैयाँ नगद सङ्कलन भएको छ।
६२ औं रेडक्रस दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा रेडक्रस सभापति हरी श्रेष्ठले रसुवा र नुवाकोटवासीलाई निःशुल्क रगत उपलब्ध गराउन एक करोड रुपैयाँको कोष स्थापना गरेको वर्ष दिनमा उक्त रकम सङ्कलन भएको जानकारी दिए । कार्यक्रममा सभापति श्रेष्ठले जिल्लामा सञ्चालित नियमित गतिविधिबारे जानकारी गराउँदै निःशुल्क रगत अभियानलाई निरन्तता दिने सभापति श्रेष्ठ बताए।
रेडक्रस अन्तर्गत रक्त सञ्चार सेवाले आर्थिक वर्षमा विभिन्न सङ्घ संस्थाहरुको आयोजनामा महिला २११ र पुरुष एक हजार १५४ जना गरी कुल एक हजार ३६५ जनाबाट रगत सङ्कलन गरी सेवा प्रवाह गरेको थियो । यस्तै, हालसम्म छ हजार ३२७ जनाले रक्तदान गरेका छन् ।
यस्तै, जिल्ला सामुदायिक आँखा केन्द्रबाट १० हजार ९८२ जना बिरामीहरुले आँखा जाँच गरेका छन् । यसैवर्ष आँखा केन्द्रलाई शल्यक्रिया केन्द्रमा रुपान्तर गरिने जनाएको छ । रेडक्रसले जिल्लामा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंमार्फत २०६० सालदेखि सहकार्यमा स्थापना गरेको सामुदायिक आँखा केन्द्रबाट सेवा दिइरहेको छ । केन्द्रले २४सै घण्टा रक्तदान तथा रक्ततत्व सेवा दिँदै नियमित रक्तदान शिविर सञ्चालन गरिरहेको छ ।
रेडक्रसले विभिन्न विपदबाट प्रभावित भएका १९२ घरधुरीका लागि गैह्र खाद्य सामाग्री वितरण गर्नुको साथै १५७ परिवारका लागि स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरिएको छ।
कार्यक्रममा शाखाका प्रमुख कर्मचारी समुन्द्र अधिकारीले गत आवको प्रगति विवरण र रेडक्रस गतिविधिबारे जानकारी गराएका थिए ।
२०३४ साल असोज १८ गते स्थापना भएको रेडक्रस नुवाकोटमा हाल उपशाखा २३ , जुनियर रेडक्रस सर्कल २४१ , युवा रेडक्रस सर्कल ३, यसस्कर सदस्य १२ जना, विशिष्ट सदस्य ७३ जना र आजीवन सदस्य दुई हजार ९०७ जना रहेका छन् ।
नुवाकोट रेडक्रसको १३ वटा विषयगत समिति क्रियाशील रहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया