नुवाकोट – त्रिशूली अस्पतालले गणतन्त्र दिवसको अवसरमा सरसफाई र वृक्षारोपण कार्यक्रम गरेको छ ।
सामाजिक र स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आईरहेको काजी ग्रुपको सहकार्यमा कर्मचारी र चिकित्सकहरुको सहभागितामा अस्पताल परिसर सरसफाई गरेको अस्पतालका अध्यक्ष राजु पण्डितले बताए ।
गणतन्त्र दिवसको अवसरमा फोहोर व्यवस्थापन गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने अस्पताल प्रमुख डा. राजेन्द्र लामाले बताए । उनले भने, ‘दैनिक उपचारका लागि ठूलो संख्यामा बिरामी आउने अस्पताललाई सधैँ सफा राख्ने उदेश्यसहित सक्रियता बढाइएको छ।’
कार्यक्रममा विभिन्न सङ्घ संस्था र स्थानीयको पनि सहभागिता रहेको उनले जानकारी दिए । साथै हरेक शुक्रबार अस्पतालको प्रत्येक विभागसहित अस्पताल परिषर सरसफाई गरिने छ। सरसफाईको जिम्मेवारी सम्बन्धित विभागलाई समेत दिइएको उनले बताए।
वातावरण सफा राख्न र जनचेतना जगाउन सरसफाई कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने काजी ग्रुपका अध्यक्ष श्याम ओझाले बताए ।
अस्पतालको पर्यावरण र सुन्दरता कायम राख्न तीन सयभन्दा बढी फुलहरुका बिरुवा वृक्षारोपण गर्नुको साथै मिनि बगैंचा निर्माणको लागि गमला समेत उपलब्ध गराईएको काजी ग्रुपका महासचिव नारायण प्याकुरेलले जानकारी दिए ।
प्रतिक्रिया