नुवाकोट – नेपाल रेडक्रसबाट सञ्चालित बाल केन्द्रीत विपद् जोखिम न्यूनीकरण कार्यक्रमले भूकम्प जस्ता प्रकोपबाट हुने क्षति कम गर्न र प्रकोपपछि उद्धार र राहत वितरणको कृत्रिम अभ्यास विदुर नगरपालिका-७ तुप्चेमा रहेको चण्डेश्वरी माध्यामिक विद्यालयमा सञ्चालन गरेको हो। कृत्रिम अभ्यास कार्यक्रममा जनप्रतिनिधि, स्थानीय विपद् व्यवस्थापन समिति, विद्यार्थी, शिक्षक लगायत स्थानीयको सहभागिता रहेको थियो।
‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने नारासहित २६औं भूकम्प सुरक्षा दिवसका अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी स्वरुप कृत्रिम घटना अभ्यास गरिएको नेपाल रेडक्रस सोसाइटिका सभापति हरि श्रेष्ठले बताए ।
विपद्को बेला उद्धार कार्यमा सजिलो होस भन्ने उद्देश्यले कृत्रिम घटना अभ्यास कार्य सम्पन्न गरिएको हो। विपद् पूर्व तयारी तथा प्रतिकार्यको तालिम पाएका दक्ष जनशक्तीले विपद्को बेलामा गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन्।
प्रकोप जुनसुकै समयमा पनि आउने भएकाले प्रकोपका घटनाबाट क्षति कम गर्न यस्ता अभ्यासहरु नियमित भएमा समुदाय चनाखो हुने र विपद्पछि पनि सहजीकरण गर्न सकिने अवस्थामा पुग्ने रेडक्रसका सभापति श्रेष्ठले बताए।
जिल्लामा विभिन्न प्रकोपका घटना हुने सम्भावना छन्। बाढीपहिरो, आगलागी, चट्याङ, हावाहुरीले बर्षेनी धनजनको क्षति हुने गरेको छ। प्रतिकार्यको लागि समुदायलाई सचेत गर्न सके मात्र न्यून क्षति हुने सम्भावना भएको रेडक्रस नुवाकोटका मन्त्री उद्धव शर्मा रिजालले जानकारी दिए।
भूकम्प आएपछि अपनाउनु पर्ने उपाय, खोज र उद्धार, पुनर्स्थापना, घाइतेको उपचार, सरसफाइ, सुरक्षित स्थानमा पु-याउने र प्रतिकार्य लगायतका कार्य सम्बन्धि काल्पनिक परिस्थिति अनुसारका अभ्यासहरु गरिएको थियो। उक्त अभ्यासमा तालिम प्राप्त स्वंयसेवकहरुले भूकम्प र आगलागीको बेला हुने गरेको क्षति न्यूनीकरण गर्न अपनाउनु पर्ने तत्कालीन उपायबारे अभ्यासमार्फत स्थानीयलाई जानकारी गराएका थिए। कृत्रिम अभ्यासमा घटनापछि राहत समाग्री वितरण, क्षति विवरण संकलन गरिएको थियो।
जोखिममा रहेको स्थानका समुदायलाई जागरुक गराउन तत्काल उद्धार तथा राहतका लागि र प्राकृतिक विपद्को सामना गर्न पूर्व तयारी स्वरुप थालिएको कृत्रिम अभ्यासले जनप्रतिनिधि र स्थानीयलाई जागरुक गराएको नुवाकोट रेडक्रसका मन्त्री रिजालले बताए ।
प्रतिक्रिया