विदुर – एसियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा नुवाकोटमा बहुउद्देश्यीय स्वास्थ्य भवन निर्माणको शिलान्यास गरिएको छ । विदुर नगरपालिकाको वडा नम्बर २ स्वास्थ्य चौकी परिसरमा निर्माण हुने भवनमा अक्सिजन सुविधासहित रहने छ ।
गरिबी न्यूनीकरणका लागि जापान कोष (जेएफपीआर) को अनुदानमा बिहिबार स्वास्थ्य भवन निर्माणको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी र २ नम्बर वडाका अध्यक्ष दिपक कायस्थले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको कार्यक्रम अन्तर्गत वैकल्पिक तथा साना शहर परियोजनामा धुने र स्वास्थ्य पहलहरूमार्फत कोभिड-१९ को रोकथाम र नियन्त्रण नामक आयोजनामा उक्त भवन निर्माण हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
समान विकास र समान सुविधाका लागि उक्त भवन निर्माण गर्न लागिएको २ नम्बर का वडा अध्यक्ष कायस्थले बताए । भवन निर्माण सम्पन्नपश्चात् आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने उनले बताए ।
उक्त परियोजना अन्तर्गत विनियोजन भएको भ्याटसहितको १० करोड ९९ लाख १८ हजार ५८७ रकमले शुभघाट, प्रगतिनगर, बुटुवल, निर्माणपोखरी र सुर्यविनायक गरी देशका विभिन्न स्थानहरुमा भवन निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ । नुवाकोटमा निर्माण हुने भवनको लागि १ करोड ५७ लाख रुपैंया विनियोजन गरिएको छ ।
प्यारामाउन्ट कन्सल्टेन्सी जिम्मा पाएको उक्त स्वास्थ्य भवन निर्माण सुरु भएको एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने जनाएको छ ।
प्रतिक्रिया