२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

“रसुवाली जनताको हितमा अहोरात्र खटिरहेको छु” प्रजिअ ढकाल

सरस्वती न्यौपाने     श्रावण २८ २०७८ १४:२९

ishwori prasad dhakal raswa cdo
pratik book and stationery center in nuwakot

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरीप्रसाद ढकाल गत २०७७ साल फागुन १७ गते रसुवाको प्रशासनमा बहाल भएयता कोरोना नियन्त्रणको सचेतना र बर्षायाममा सवारीसाधन सञ्चालन गराउन ठुलो योगदान पुर्‍याउँदै आएका छन् । प्रजिअ ढकालले ऐन, कानुन, सरकारको नीति निर्देशनलाई आत्मसाथ गर्दै रसुवाली नागरिकको हितमा अहोरात्र सेवा प्रदान गरिरहेका छन् ।

रसुवामा प्रजिअ बहाल भएपछि कोरोनाको सङ्क्रमण न्यूनीकरण‚ अक्सिजनको व्यवस्थापन, शान्ति सुरक्षाको साथै वर्षायाममा अवरुद्ध हुने नेपाल(चीनको अन्तर्राष्ट्रिय पासाङल्हामु राजमार्ग नियमित सुचारु गराउन उनको योगदान अतुलनीय छन् । नेपाल सरकारको आधा दर्जनभन्दा बढी सरकारी कार्यालय तथा विभागमा सेवा गरिसकेका ढकालसँग सरस्वती न्यौपानेले गरिएको कुराकानी:

प्रशासकको हिसाबले रसुवा जिल्ला कस्तो लाग्यो ?

हिमाली वातावरणको साथमा ऐतिहासिक धार्मिक स्थलहरूले गर्दा रसुवा सुन्दर छ । तिब्बतसँग नाका जोडिएकाले व्यापारिक हिसाबले राज्यको नै आयकर यहाँबाट उठेका छन् । यसर्थ आर्थिक समृद्धि पनि देख्छु म ।

कोरोनाको कहरमा के कस्ता कदम चाल्नुभयो र?

म आउँदासम्म कोरोना सामान्य थियो । वैशाख तेस्रो हप्तातिर संक्रमितदर बढे तापनि म लगायत जिल्ला कोभिड व्यवस्थापन समिति (डिडिएमसिसि)को सहायतामा कम गराउँदै लग्यौँ । त्यस्तै नेपाल सरकारबाट परिपत्र भएअनुसार नियमित बैठक बसी सर्वपक्षीय सहमति बमोजिम निषेधाज्ञा‚ स्वास्थ्य मापदण्ड र स्थानीय जनता सचेत भएकोले पनि न्यूनीकरण भएको हो ।

कोभिड नियन्त्रणका लागि आम सर्वसाधारणले निषेधाज्ञा पालना गरेसँगै रसुवाली नागरिकको सहयोग मेरो मन मस्तिकमा अविस्मरणीय रहनेछ।

तपाईँको आगमनपश्चात् राजमार्गमा हुने भौगोलिक समस्याहरू समाधान गर्न कतिको सफल भयोर?

भौगोलिक अवस्थाका कारण वर्षायामको समयमा पहिरोले सडक अवरुद्ध हुने समस्या बढी देखियो । यस्तो समाधानका निम्ति हामीले सडक डिभिजन कार्यालय नुवाकोट, हाइड्रोपावरहरू र स्थानीय तहसँग समन्वय गरेर समाधान गरिरहेका छौँ । हाल मुलखर्क, सानोभार्खु र स्याफ्रुबेसि, लिङलिङमा दिनहुँ जस्तो गइरहने पहिरो र लेदोको जटिल समस्यालाई समाधान गरेका छौँ । जसले दैनिक चीनबाट आउने मालवाहक गाडीलाई आवतजावतमा सहज भएको छ ।

स्थानीय तहहरूसँग तपाईँको समन्वय कस्तो भइरहेको छ र?

स्थानीय सरकार सँगै भएपछि जिल्लावासीको समस्या समाधान गर्न धेरै सहज भएको छ । परिस्थिति र महत्त्वपूर्ण आवश्यकताअनुसार जनप्रतिनिधिसँग छलफल गर्ने गरेको छु ।

प्रशासनिक क्षेत्रमा विगतको तुलनामा के कति सुधारका कामहरू भए र?

सुधार भनेको सेवाग्राही एवं सरोकारवालाहरूले अनुभूति गर्ने विषय हो । हामीले कुनै पनि काम भोलि भनेर पन्छिने गरेका छैनौँ । हरेक विषय समन्वयात्मक तवरले सम्पादन गर्ने बानीको विकास गरेका छौँ ।

शान्ति सुरक्षाको अवस्था कस्तो रहेको छ र?

सुरक्षाको अवस्था शान्तिपूर्ण रहेको छ । ठाउँ ठाउँमा प्रहरी चेकपोस्ट भएकोले नियमित रिपोर्टिङ लिने र दिने सुरक्षा गस्ती गराउने काम भइरहेको छ ।

कहिलेकाहीँ प्रशासनिक काममा दबाब आएको छ त र?

काम गर्दै जाँदा दबाब आउनु स्वाभाविकै हो । त्यसलाई सहज हिसाबले लिने गरेको छु । नियम कानुनको परिधिमा रहेर सहमति र सहकार्यबाट अगाडि बढ्दा दबाब आउने ठाउँ नै हुँदैन ।

विषयान्तर गरेँ‚ तपाईँको भ्रमण तथा पुरस्कारको बारेमा थोरै बताइदिनुहोस् ?

दक्षिण कोरियामा अन्तर्राष्ट्रिय व्यापार विषयको मास्टर डिग्री अध्ययन गरे । साथै सरकारी कामको सिलसिलामा भारत, चीन, थाइल्यान्ड, हङकङ, मकाउ, जापान, कोरिया, इन्डोनेसिया, सिंङगापुर, कतार, नेदरल्यान्ड , इटाली, स्विजरल्याण्ड, लन्डन र अमेरिकाको भ्रमण गरेको छु ।

पुरस्कारको विषयमा चाहिँ राष्ट्रपतिबाट प्रबल जनसेवा श्री चतुर्थ मानपदवीबाट सम्मानित भएको छु ।

अन्तमा?

सेवा नै धर्म हो । जनताको अनुहारमा खुसी देख्ने नै ठुलो उपलब्धि ठानेको छु । सरकार र जनताप्रति बफादारी भई कर्तव्य पालना गर्नुपर्ने भएकाले आफ्नो पेसा प्रति म पूर्ण सन्तुष्ट छु ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top