२०८१, १३ बैशाख बिहीबार

“अविश्वसनीयको कारण सिओडी चल्दै”: सिताराम रिमाल

    श्रावण ४ २०७६ २२:२६

sitaram rimal ceo of mero shopping online shopping
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

पछिल्लो समय नेपाली बजारमा इ–कमर्शको व्यापार निकै फष्टाउँदो छ । इन्टरनेट सेवाको बढदो पहुँच, उपभोक्तालाई भनेकै ठाउँमा सुविधा उपलब्ध हुनु र विभिन्न छनौटका अवसर तथा सेवाका कारण पनि इ–कमर्श उपभोक्ताका लागि रोजाइमा पर्न थालेका छन् । यसैलाई दृष्टिगत गर्दै पछिल्लो समय विभिन्न नामका इ–कमर्श साइटहरु खुल्ने क्रम पनि बढेको छ । जसमा मेरो सपिङ डटकम पछिल्लो समय नेपाली इ कमर्श बजारमा मुख्य खेलाडीका रुपमा आफुलाई स्थापित गर्दै अघि बढिरहेको छ । जसलाई इ–कमर्शको क्षेत्रमा लामो समय देखि काम गरिरहेको सीताराम रिमाललगायत टीमले अघि बढाइरहेका छन् । मेरो सपिङ डटकम प्रबन्ध निर्देशकको रुपमा रिमालले अहिले इ-कमर्शलाई ग्राहकहरुले सबैभन्दा बढी विश्वास गर्न सक्ने इ–कमर्श साइटको रुपमा उभ्याएको दाबी गर्छन । विभिन्न समस्याहरुबीच पनि अहिले नेपाली बजारमा फष्टउाँदो इ–कमर्श बिजनेसको भविष्य उज्जवल रहेको बताउने रिमाल यसलाई मुख्यत उपभोक्ताले विशवास गर्न सक्ने क्षेत्रको रुपमा उभ्याउनु चुनौती रहेको बताउँछन् । वेभ लिङ्क नेपालका निर्देशक, वेभ एसोसियसन नेपालका संस्थापक तथा राम्रो टिभीका निर्देशक समेत रहेका रिमालसँग मुख्यत अहिले नेपाली इ–कमर्श क्षेत्रको अवस्था, अवसर, भविष्य र चुनौतीका सम्बन्धमा गरेको कुराकानीको सारसंक्षेप :

मेरो सपिङका बारेमा बताइदिनुहोस न ?

मेरो सपिङ डटकम एउटा इ–कमर्श पोर्टल हो । अहिले वल्र्डवाइड नै इ–कमर्श बिजनेसको ट्रेन्ड बढ्दो छ । तर, नेपालमा हामी इ–कमर्श तथा आइटी फिल्डमै पछि थियौं र छौं । म आइटी फिल्डमै १५–२० वर्षदेखि काम गरिरहेको छु । तर, अहिले नेपालमा आइटी क्षेत्र पनि बढ्दो छ । इन्टरनेटको पहुँच बढदै जाँदा उपभोक्ताहरु इ–कमर्शतर्फ आकर्षित हँुदैं गएका छन् । तर, बजारमा उपयुक्त इ–कमर्शको हामीले अभाव महसुस गर्यौं । यसैले उपभोक्ताको चाहना अनुरुप सेवा दिन हामीले एउटा नयाँ र उपयुक्त इ–कमर्श सेवा शुरु गरौं न त भनेर ‘मेरो सपिङ डटकम’ स्थापना गरेका हौं । यसले सबैभन्दा छिटो, विश्वसनिय र उपभोक्ताका लागि चाहना अनुसारको भरपर्दो सेवा दिन्छ । ‘मेरो सपिङ डटकम’ ले अहिलेको व्यस्त जीवनशैलीमा उपभोक्ताका लागि घर, कार्यालय वा उहाँहरुले चाहेकै स्थानमा सकेसम्म छिटो सेवा दिन्छ । यसले उपभोक्ताहरुलाई आफ्नो व्यस्त सेड्युल छाडेर धूवाँ, धूलो तथा भीडभाडमा सपिङ गर्न जानुपर्ने बाध्यताबाट मुक्ति दिन्छ ।

नेपालको बजार एकदमै सानो छ भनिन्छ । तर, पछिल्लो समय इ–कमर्श बिजनेस पनि बढ्दै छन् । उपभोक्ताहरु जेसुकै सामान खरिद गर्न पनि बजार नै जाने प्रवृत्ति छ । यस्तोमा इ–कमर्श बिजनेस सफल होला र ?

नेपालमा भारत र चीनजस्ता छिमेकी देशकहरुको जस्तो ठूलो बजार त छैन । तर, हाम्रो बजारमा पनि अर्बौ रुपैयाँको दैनिक कारोबार हुने गरेको छ र यस्तो कारोबार धेरैजसो पसलबाटै हुने गर्छ । त्यसैले अहिलेको इ–कमर्श क्षेत्रको चुनौती त्यो अर्बौको कारोबारलाई इ–कमर्शतिर ल्याउनु हो । नेपालमा भारत र चीनजस्तो ठूलो बजार र त्यहाँ जस्तो इ–कमर्शमा ठूलो प्रतिस्पर्धा पनि छैन । अहिले चलिरहेका नेपाली इ–कमर्शहरुलाई नेपाली बजारमा अवसर नै अवसर छ । मुख्य कुरा भनेको ग्राहकलाई इ–कमर्शतिर आकर्षण गनु हो । ग्राहकको आकर्षण इ–कमर्शतिर भए नेपालमा इ–कमर्शको भविष्य निकै उज्जवल छ ।

उपभोक्ता आकर्षणको कुरा गर्नुभयो । तर, नेपालमा अहिले चलिरहेका इ–कमर्शहरु विश्वसनीय नभएको उपभोक्ताको गुनासो छ । एउटा सामान देखाउने र ग्राहकलाई अर्को सामान दिने काम इ–कमर्श व्यापारमा भइरहेको छ भन्ने गुनासो छ नि ?

इ–कमर्शमा सबैभन्दा मुख्य कुरा उपभोक्ता सचेतनाको पनि हुन्छ । अहिले इ–कमर्शमा एउटा सामान देखाउने र ग्राहकलाई अर्को सामान दिने काम भइरहेको जुन गुनासो छ त्यसको मुख्य कारण उपभोक्ताले कस्तो साइटबाट सामान खरिद गर्यो भन्ने हो । अहिले बजारमा एउटा कम्प्युटरको भरमा, एउटा कोठाबाट इ–कमर्श चलाउनेहरु पनि छन् । कतिपय त झोलाबाटै व्यवसाय गरिरहेका छन् । त्यस्ता इ–कमर्शहरुले सबै इ-कमर्शहरुको बदनाम गरिरहेका छन् । जसका कारण उपभोक्तलाई पनि समस्या परेको छ । त्यसैले उपभोक्ताले जहिले पनि सामान खरिद गर्दा कस्तो इ–कमर्श हो, त्यसको बजारमा कस्तो नाम छ, कस्तो सामान बेच्छ भनेर पनि जान्नु जरुरी छ । यो कुरामा उपभोक्ता सचेत भइदिनै पर्छ । त्यस्तै उपभोक्तालाई यसरी ठग्नेहरुलाई सरकारले कानूनी दायरामा पनि ल्याउनुपर्छ र उपभोक्तालाई क्षतिपुर्ति दिलाउनुपर्छ । हामी पनि उपभोक्तालाई सचेत गराउने अभियानमै छौं । विश्वसनीयको कारण सिओडी चल्दै छ, जस्तो ब्राण्डेड सामान बेच्ने, फ्रि रिर्टन पोलिसि, वारेन्टीजस्ता विषयमा हामीले उपभोक्तालाई सुविधा दिएका छौं ।

तर, नेपालमा अहिलेसम्म इ–कमर्शसम्बन्धी कुनै कानून नबनिसकेको अवस्था छ । यस्तोमा त कानूनी समाधान पनि त गाह्रो होला नि ?

इ–कमर्शलाई सरल तरिकाले नै बुझ्दा राम्रो होला । मुख्य कुरा त इ–कमर्श पनि व्यापार नै हो । हामीले सामान पसलबाट बेचे पनि बेच्ने हो, अनलाइनबाट बेचे पनि बेच्ने हो र य–कमर्शबाट बेचे पनि बेच्ने नै हो । यसमा मुख्य काम व्यापार नै हो । हामी अहिले व्यापारकै जुन, प्रणाली, पद्धति र कानूनबाट बाट ब्यापार गरिरहेको छौं, सबै त्यही नै हो । इ–कमर्शमा अनलाइन पेमेन्टलगायतका केही फरक होलान । इ–कमर्शले पनि ग्राहकलाई सही मूल्यमा उपयुक्त सामान बेच्नुपर्यो । कालोबजारी गर्नुभएन । सबै कानूनहरु मान्नु पर्यो मुख्य कुरा यही नै हो । इ–कमर्शकालागि छुट्टै ऐन, नियम, कानून नै चाहिने हैन । अहिले भएकै कानूनमा इ–कमर्शलाई पनि सरकारले समेटेर जान सके ब्यवस्थित हुनसक्छ । समयानुकुल सुधार त सबै क्षेत्रमा हुनुपर्छ र यसमा पनि त्यही लागू हुने हो ।

तर, अहिलेसम्म इ–कमर्श ब्यापार सिओडी (क्यास अन डेलिभरी) मै सिमित रहेको भनिन्छ नि, किन ?

यसमा अहिले धेरै सुधार आइरहेको छ । अहिले धेरै इपेमेन्ट गेट वेहरु सञ्चालनमा आएका छन् र इ–कमर्शहरु पनि त्यसमा जोडिदैं गएका छन् । इ–कमर्श नै हामीकहाँ ढिलो शुरु भएको हो । तर, यसको विकासभने तीब्र रुपमा भइरहेको छ । इ–कमर्शको व्यापारका लागि आवश्यक प्लेटफर्महरु विकास हुँदै गएका छन् । अहिलेसम्म इ–कमर्श ब्यापार सिओडी (क्यास अन डेलिभरी) मै बढी निर्भर हुनुमा ग्राहकहरुको मुख्य चाहना नै हो । यसले ग्राहकहरुलाई धेरै सहज हुने गरेको छ । सामान अर्डर गर्यो र घरमै डेलिभरी लिएपछि क्यासमा पेमेन्ट गर्यो । यो उपभोक्तलाई सबैभन्दा सजिलो र आकर्षक सुविधा पनि हो । त्यस्तै भर्ख नेपालीहरु इ–कमर्शमा अभ्यस्त बन्दै गएका छन् । धेरै इ–कमर्श आएका छन् अहिले । ग्राहकले कुन जेन्युन र रिलायबल हो भनेर पनि हेर्छन । ग्राहकलाई रिलायबल लागेपछि कार्डबाट पेमेन्ट गर्ने प्रचलन पनि छ । तर, पछिल्लो समय ग्राहकहरु पनि कार्डबाट नै पेमेन्ट गर्ने विषयमा सचेत बन्दै गएका छन् । अहिले क्रमश प्रविधिको पहुँच र बिस्तार बढ्दै जाँदा सिओडीसँगै कार्ड पेमेन्ट पनि बढ्दै गइरहेको छ ।

अहिलेको विश्वबजारमा नेपाल कुन अवस्थामा छ अहिले ? नेपालको स्थान कहाँनेर छ ?

अहिले विश्वबजारमा नेपालको स्थान हेर्ने हो भने नेपाल एकदमै पछाडि नै छ भन्नु पर्छ । मुख्य कुरा त हाम्रो बजार पनि सिमित छ । जसको कारण हाम्रो बजारमा ठूला कम्पनीहरु एकैपटक ठूलो लागनी गरेर पनि आउँदैनन् । भलै अहिले केही ठूला कम्पनीहरु पनि नेपाल आउका छन् । तर, केही समय अहिलेकै गतिमा अघि बढे नेपाली इ–कमर्श बजारले पनि एउटा उचाई लिन्छ । अहिले भने हामी पछाडि नै छौं ।

नेपालमा इ–कमर्शले बृहत बजार लिन नसक्नुमा कस्ता चुनौतीहरु देख्नुभएको छ ?

सबैभन्दा पहिलो कुरा त के बुझ्नुपर्छ भने नेपालमा इ–कमर्श व्यपार अहिले निकै बढ्दो रुपमै छ । तर, यसले बृहत बजार लिन भने केही समय लाग्छ भनांै । अहिले इ–कमर्शको बजार शहरमै केन्द्रित छ । गाउँसम्मको पहुँच निकै कम छ । यसको कारण भनेको एक्सेस नै हो । किनकी हामी अहिले यो बजारका लागि आवश्यक पूर्वाधार क्रमशः विकास हुँदै गरेको र अभावमा पनि छौं भन्न सक्छौं । जस्तो अहिले भर्खरै इ पेमेन्ट गेटवेहरु आएका छन् । जनतामा इन्टरनेटको पहुँचत बढ्दो छ र हामी जनतासम्म पुग्ने कोसिस गरिरहेका छौं । तर, अहिले पनि नेपालको जुनसुकै कुनामा सामान डेलिभरी गर्न पर्यो भने लजिष्टिक सपोर्ट प्रोभाइडरहरु र म्यानेजमेन्ट कम्पनीहरुको अभाव छ । यस्ता कम्पनीहरु देशैभर खुल्न सके सानो भन्दा सानो सामान पनि उपभोक्ताले नेपालको जुनसुकै ठाउँमा पाउन सक्छ । त्यसो हुन सके ग्राहकहरुलाई बजारमा निस्कने तनाव नै हुँदैन । बिदेशमा एक डलरको सामान पनि यस्ता कम्पनीले गाउँगाउँसम्मै पुर्याइदिन्छन । नेपालमा पनि यस्ता कम्पनी आउन सके इ–कमर्श गाउँ गाउँसम्म पुग्न सक्छ ।

प्रसंग बदलौं, मेरो सपिङ डटकमले चाहिं कसरी काम गरिरहेको छ । यसको बजार पहुँच कहाँसम्म छ ?

हामी अर्थात मेरो सपिङ डटकम अहिले लिडिङ पोजिसनमै छौं । यसमा हाम्रो स्टे«न्थ वा बलियो पक्ष के हो भने हामी सबैभन्दा छिटो डेलिभरी दिने गर्छौ । काठमाडौं भ्यालीमा विथइन ३ घण्टामा नै हामीले डेलिभरि दिइरहेका छौं । यसमा हामी सबैभन्दा अगाडि छौं भने अर्कोतर्फ हामीले अल नेपाल फ्रि डेलिभरि दिइरहेका छौं । हामी ब्राण्डेड सामानको मात्र कारोबार गर्ने गर्छौ । अहिले हामी प्रमोसनल पिरियडमै भएकाले पनि कस्टमरका लागि विभिन्न सुविधाहरु दिइहरेका छौंर थप सुविधा बिस्तार गर्दै अगाडि बढिरहेका छौं । अर्कोतर्फ हेर्ने हो भने हामी अल नेपाल नै एक्सेस बिस्तार गर्न सफल भएका छौं । नेपालका मेजर सबै सिटीमा हाम्रो आउटलेटहरु छन् । त्यस्तै हामी आफ्नै वेयरहाउस राखेर काम गरिरहेका छौं । काठमाडौंमा हाम्रो काठमाडौं मलमा आउटलेट तथा लाजिम्पाटमा वेयरहाउस छ । त्यस्तै सबै सिटिमा हाम्रो फिजिकल्ली नै उपस्थिती छ ।

ग्राहकहरु मेरोसपिङबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

यसमा हामी निकै सफल छौं भन्न सक्छौं । हामीसँग उपभोक्ताहरु एकदमै सन्तुष्ट हुनुहुन्छ । किनभने हामीकहाँ जोसुकै ग्राहकले पनि आफुले अर्डर गरेको सामानमा कुनै पनि तलमाथि हुने गर्दैन । हामी आफ्नै वेयरहाउस र शोरुमसमेत राखेर काम गरिरहेका कारण ग्राहकले चाहे सामानलाई फिजिकल्ली नै हेरेर पनि अर्डर गर्न सक्नुहुन्छ । अर्कोतर्फ उपभोक्तलाई नेपालकै फास्टेट डेलिभरि दिने, भनेको भनदा सामानकमा कुनै फरक परेमा, कवालिटीमा चित्त नबुझे रिटर्नको सहज पोलिसि र फिडब्याक समेत लिने भएकाले हामी निकै सफल र ग्राहकहरु एकदमै सन्तुष्ट हुनुहुन्छ । हामी सञ्चालनको यो ५ वर्षमा ग्राहकरुमाझ स्थापित हुनुमा हाम्रो विश्वसनीयता नै हो ।

अबको लक्ष्य के छ ? मेरो सपिङलाई कसरी अघि बढाउनुहुन्छ ?

अहिले हामी मेरो सपिङलाई नेपालको सबै क्षेत्र र स्थानका ग्राहकहरुमाझ पुर्याउन चाहन्छौं । यसका लागि हामीले विभिन्न काम गरिरहेका छौं । हाम्रो उद्देश्य त मल्टिनेसनल कम्पनीको रुपमा अघि बढने हो ।

अर्कोकुरा अहिले नेपालमा ठूला मल्टीनेसनल कम्पनीहरुको पनि प्रवेश हुन थालेको छ ? हाम्रो जस्तो सानो मार्केटमा के असर पर्ला ?

नेपालमा अहिलेसम्म मल्टीनेसनल कम्पनीहरुले रिटेल बिजनेसमा कानूनतः लगानी गर्न पाउँदैनन् । इ–कमर्श भनेको रिटेल बिजनेस हो । तयसैले यसमा बिदेशी लगानी कानूनी रुपमा गर्न मिल्दैन । यदि कोही आएको छ भने पनि त्यो कानूनी रुपमा होइन । यसमा सरकारले नै हेर्ने हो । कसैले कानून अनुसार लगानी गर्छ भने स्वागत गर्नुपर्छ । अन्यथा यस्तो लगानीले देशलाई नै समस्यामा पार्छ । तर, यस्ता कम्पनी आउँदैमा हामीलाई त्यति ठूलो असर पनि परिहाल्दैन् । ग्राहकहरुले मल्टीनेसनल कम्पनीहरुको नाममात्र होइन कि विश्वसनीय र उपयुक्त सेवा पनि हेर्छन । यसैले खासै समस्या पर्दैन ।

अन्त्यमा, इ–कमर्शको क्षेत्रलाई अघि बढाउन सरकारले के गर्नुपर्ला ?

जुनसुकै व्यवसायका लागि पनि सरकार सहयोगी नै बन्नुपर्छ । इ–कमर्शका लागि पनि सरकारले यो क्षेत्रलाई बुझेर समयानुकुल निती नियम कानूनहरु बनाइदिने, क्यासलेस प्रविधिको विकासमा सहयोग गर्ने, इन्टरनेटको पहुँच वृद्धि गर्ने काम गर्नुपर्छ भने इ–कमर्श व्यापारको नाममा कुनै कम्पनी दर्ता नगरिकन, ग्राहकहरुलाई विभिन्न प्रलोभनमा पारेर ठगी गरिरहेकाहरुलाई कानूनी दायरामा पनि ल्याउनुपर्छ । यसले इ–कमर्शको बजारलाई स्वस्थ्य र मर्यादित तथा उपयुक्त बनाउन सहयोग पुग्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top