+
Search

ताजा अपडेट +

पपुलर +

बजार व्यवस्थित गर्दै भरतपुर महानगरपालिका

Bharatpur Sub Metropolitan City Office
डबली खबर
७ साल अगाडी

चितवन/भरतपुर महानगरपालिकाभित्र अटोरिक्साका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि महानगरले यसलाई रोक्ने प्रक्रिया शुरु गरेको छ ।

महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरी महानगरभित्र सञ्चालन हुने गरी इरिक्सा वा अटो रिक्सा दर्ता तथा सञ्चालन अनुमति प्रक्रिया रोक्नका लागि पुनः पत्राचार गरेको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले हस्ताक्षर गर्नुभएको सो पत्रमा यसअघि गत वर्षको जेठ ७ र भदौ २१ गते यस कार्यालयबाट पत्रचार गरिएकामा दर्ता प्रक्रिया रोकिएको भनी कार्यालयमा पत्र प्रेषित भएको तर तीन पाङ्ग्रे अटो रिक्सा दर्ताको प्रक्रिया नरोकिएको उल्लेख छ ।

पत्रमा अब पनि अटो रिक्सालाई यस महानगरपालिकाभित्र अनुमति दिन नसकिने हुँदा यसरी महानगरपालिकाको स्वीकृतबेगर अटोरिक्सा वा अन्य तीन पाङ्ग्रे सवारी साधन महानगरपालिकाको क्षेत्रभित्र सञ्चालन हुने गरी दर्ता अनुमति रोक लगाइदिन आग्रह गरेको छ ।

जिल्लामा इरिक्सा एक हजार र अटो रिक्सा तीन हजारभन्दा बढी रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार ७० प्रतिशत हाराहारी तीन पाङ्ग्रे इरिक्सा र अटो रिक्सा महानगरको मुख्य बजार क्षेत्रमै गुड्ने गर्छन् । जिल्लामा मोटरसाइकलको संख्या ७० हजार छ । तीन पाङ्ग्रे चलाउने ४० प्रतिशतको चालक अनुमतिपत्रसमेत नभएको उहाँले बताउनुभयो ।

“दैनिक तीन/चारवटा तीन पाङ्ग्रे दुर्घटना हुने गरेको छ,” पन्तले भन्नुभयो ।

महानगरले फुटपाथ व्यापार हटाउने

भरतपुर महानगरपालिकाले फुटपाथको व्यापार हटाउने भएको छ । महानगरका प्रमुख रेणु दाहालको अध्यक्षतामा सोमबार बसेको बजार व्यवस्थापन समितिको बैठकले जेठ १४ गतेदेखि नारायणगढ क्षेत्रमा फुटपाथको व्यापार बन्द गराउने निर्णय गरेको हो ।

बैठकले भरतपुर महानगरपालिकाको लायन्सचोकदेखि पुल्चोक हुँदै नारायणगढ बसपार्क, मिलनरोड, शहीदचोक, बेलचोक एवं मुख्य राजमार्गदेखि ५०० मिटर भित्रसम्म, बजार क्षेत्र, फुटपाथ र ठेला व्यवसायलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । बैठकले यस्तो व्यापार व्यवसाय गर्न चाहने व्यक्तिलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको बालकुमारी कन्या माविको जग्गामा फुटपाथ व्यवसाय सञ्चालन गर्न दिइने निर्णय गरेको छ ।

यसैगरी बैठकले महानगरपालिकाको नारायणगढ बजार क्षेत्र र भरतपुरको मुख्य बजार क्षेत्रमा आफ्नो पसल अगाडि सडक अतिक्रमण गरी सामान राख्ने कार्यलाई निषेध गर्ने निर्णय गरेको छ । अटेर गरी सामान राखेको पाइएमा जफत गर्ने निर्णय बैठकले गरेको महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताउनुभयो । (रासस)

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ