२०८१, १३ बैशाख बिहीबार

स्वास्थ्य चौकी निर्माणपछि सिक्रेवासीमा खुशियाली

    जेष्ठ ४ २०७५ १७:२७

Nuwakot District Map
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

सिक्रे, नुवाकोट/गाउँमा भएको स्वास्थ्य चौकी २०७२ सालको भूकम्पले तहसनहस बनायो । सानोतिनो दुःखबिराम हुँदा उपचार पाउन शुरुका केही दिन निकै समस्या भएको थियो नुवाकोटका सिक्रेवासीलाई ।

स्थानीय मसिनी विक केही दिनमा खाली चौरमा टेन्ट टाँगेर स्वास्थ्य सेवा दिन थालियो तर सेवा लिने र दिनलाई समस्या भयो ।

काठमाडौँबाट २८ किलोमिटरको दूरीमा रहेको हालको शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेमा भूकम्पको चार वर्षपछि अवस्था फेरिएको छ ।

सिक्रेमा नयाँ स्वास्थ्य चौकी निर्माण भएको छ । डेढ वर्षदेखि सिक्रे स्वास्थ्य चौकी निर्माण भएपछि सामान्य रोगका लागि काठमाडाँै धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

स्वास्थ्य चौकीका अनमी टीकाकुमारी खड्काले नयाँ भवन बनेपछि नियमित जाँचका लागि आउने मानिसको संख्या बढेको बताउनुभयो ।

‘‘गाउँमा खासै मान्छे छैनन्, धेरै काठमाडौँतिरै बस्छन् भने विदेश बस्नेको पनि कमी छैन, गाउँमा वुद्धवृद्धा, बाहिर जान नसक्नेको संख्या धेरै छ, धेरैलाई उच्च रक्तचाप, दम, ज्वरो, घाउखटिरा, पखालाजस्ता समस्या हुन्छ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य चौकी पुनःनिर्माण भएर सञ्चालनमा आएको डेढ वर्षपछि सिक्रेमा नुवाकोटकै पहिलो व्यवस्थित र सुविधासम्पन्न वडा कार्यालय पनि निर्माण भएको छ ।

मसिनी विकलाई वर्षदिनदेखि उच्चरक्तचापको समस्या छ । वडा कार्यालयको हस्तान्तरण कार्यक्रममा आउनुभएकी मसिनीले कार्यालय भवन नहुँदा प्रशासनिक काम पर्दा हुने समस्या अन्त्य भएको विश्वास व्यक्त गर्नुभयो ।

मसिनीमात्र होइन ५८ वर्षीया माया गुरुङ, २०५५ मा गाविस उपाध्यक्ष बनेका वदम बुढाथोकी, विश्व गुरुङ पनि नयाँ भवन बनेपछि प्रशासनिक सेवा सुविधा छिटोछरितो हुने आशा राख्नुभएको छ ।

भूकम्पले पहिलेको भवन भत्काइदिएपछि टहरामा बसी काम गर्नुपर्ने समस्या भोगिरहेका शिवपुरी गाउँपालिका वडा नं ४ का जनताको समस्या पक्की भवन निर्माण भएपछि समाप्त भएको हो ।

जर्मन सहयोग नियोग (जिआइजेड)को ‘रिकभरी प्रोग्राम नेपाल’ कार्यक्रमअन्तर्गत शिवपुरी गाउँपालिका वडा नं ४ मा पक्की कार्यालय भवन र प्रिफ्याव स्वास्थ्य चौकी निर्माण भएको हो ।

पाँच कोठे पक्की भवनको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख शान्तमान तामाङ र जर्मन विकास सहयोग तथा आर्थिक मामिलासम्बन्धी दक्षिण प्रशान्त क्षेत्रका उपप्रमुख एनेटे फ्रिकले मंगलबार संयुक्त रुपमा वडाध्यक्ष झमकराज गुरुङलाई भवन निर्माण प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उपप्रमुख फ्रिकले नयाँ निर्वाचित जनप्रतिनिधिसँग काम गर्दा खुशी लागेको बताउँदै आगामी दिनमा पनि रोजगार, आयआर्जनका क्षेत्रमा पनि सहकार्य गर्न सरकारसँग छलफल गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको पुनःनिर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा जर्मन सरकारले जसरी सहयोग गर्दै आएको छ, त्यसरी नै अब जीविकोपार्जनमा सहयोग गर्ने लक्ष्य छ ।”

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङले भूकम्पपछि भौतिक संरचना भत्किँदा जनसेवाका काम प्रभावित भएको बताउनुभयो ।

राजधानीबाट डेढ घण्टाको दूरी पार गरेपछि पुगिने भएपछि सिक्रे भौगोलिक विकटताले हरेक सेवासुविधाबाट वञ्चित छ ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले नुवाकोटका दुई नगरपालिका र १० गाउँपालिकाका ८८ वडामध्ये पक्की र व्यवस्थित भवन शिवपुरी गाउँपालिका वडा नं ४ मा निर्माण भएको दाबी गर्नुभयो ।

शिवपुरी गाउँपालिका वडा नं ४ का अध्यक्ष झमकराज गुरुङले स्थानीय जनप्रतिनिधिलाई भौतिक संरचना नभएका कारणले पनि काम गर्न कठिनाइ भइरहेको बताउँदै नयाँ सुविधायुक्त भवन निर्माणमा सहयोग गरेकोमा जिआइजेटलाई धन्यवाद व्यक्त गर्नुभयो ।

रु ४६ लाख ७९ हजारको लागतमा वडा कार्यालयको पाँचकोठे पक्की भवन निर्माण भएको जिआइजेडको रिकभरी कार्यक्रम नेपालका नुवाकोट जिल्ला संयोजक सिद्धार्थ शर्माले जानकारी दिनुभयो ।

जिआइजेडले हाल दुप्चेश्वर गाउँपालिकामा विद्यालयका लागि कक्षाकोठाको भवन निर्माण, स्वास्थ्यसम्बन्धी एकीकृत तथ्यांक संकलन, कृषिमा आधारित जीविकोपार्जनलगायतका कार्यक्रम गर्दै आएको छ । (रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top