सिक्रे, नुवाकोट/नुवाकोटमा रहेका ८८ वडामध्ये शिवपुरी गाउँपालिका वडा नं ४ मा पहिलो व्यवस्थित तथा सुविधासम्पन्न कार्यालय भवन निर्माण भएको छ ।
भूकम्पले पहिलेको भवन भत्काइदिएपछि टहरामा बसी काम गर्नुपर्ने समस्या भोगिरहेका शिवपुरी गाउँपालिका वडा नं ४ का जनताको समस्या पक्की भवन निर्माण भएपछि समाप्त भएको छ ।
जर्मन सहयोग नियोग (जिआइजेड)को ‘रिकभरी प्रोगाम नेपाल’ कार्यक्रमले शिवपुरी गाउँपालिका वडा नं ४ मा पक्की भवन बनाइदिएको हो । पाँच कोठे पक्की भवनको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख शन्तमान तामाङ र जर्मन विकास सहयोग तथा आर्थिक मामिलासम्बन्धी दक्षिण प्रशान्त क्षेत्रका उपप्रमुख एनेटे फ्रिकले मंगलबार संयुक्तरुपमा वडाध्यक्ष झमकराज गुरुङलाई भवन निर्माण प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख तामाङले भूकम्पपछि भौतिक संरचना भत्किँदा जनसेवाका काम प्रभावित भएको बताउनुभयो ।
वडा कार्यालयको नयाँ भवन हस्तान्तरण गर्दै उपप्रमुख फ्रिकले नेपालको पुनःनिर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा जर्मन सरकारले जसरी सहयोग गर्दै आएको छ त्यसरी नै अब जीविकोपार्जनमा सहयोग गर्ने सोच छ भन्नुभयो । रु ४६ लाख ७९ हजारको लागतमा वडा कार्यालयको पाँच कोठे पक्की भवन निर्माण भएको जिआइजेडको रिकभरी कार्यक्रमका नेपालका नुवाकोट जिल्ला संयोजक सिद्धार्थ शर्माले जानकारी दिनुभयो ।
जिआइजेडले हाल दुप्चेश्वर गाउँपालिकामा विद्यालयका लागि कक्षाकोठाको निर्माण, स्वास्थ्यसम्बन्धी एकीकृत तथ्याँक संकलन, कृषिमा आधारित जीविकोपार्जनलगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । (रासस)
प्रतिक्रिया