२०८१, १० बैशाख सोमबार

दशैं संस्कृति संरक्षणमा युथ क्लव

    आश्विन ११ २०७४ १९:२९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । शहरमा हराउँदै गएको दशैं संस्कृति संरक्षणका लागि नुवाकोट सदरमुकाम विदुरमा अभियान सञ्चालन भएको छ ।

दशैंमा उडाईने चङ्गा, खेलिने लिङ्गे पिङ्गको संरक्षणका लागि विदुर सिटी युथ क्लवले अभियान थालेको हो । अभियान अन्र्तगत विदुर नगरपालिका वडा नंं ४ मा लिङ्गे पिङ्ग हालिएको छ । साथै दशैं आएको र मौसम सफा बनेको अनुभूती गराउने खेल चङ्गको संरक्षण र त्यसमा युवा पुस्ताको सहभागिता र आकर्षण बढाउनको लागि पहिलो नुवाकोट अण्डर फिफ्टीन चङ्गा चेट प्रतियोगिता आयोजना गरियो ।

प्रतियोगितामा १५ वर्ष मुनीका १३ जना किशोरकिशोरी तथा बालबालिकाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा निश्चल श्रेष्ठ पहिलो, क्रिजन रोक्का दोश्रो र क्रिश्चल अधिकारी तेश्रो हुनुभएको छ । विजेताहरुलाई प्रमाणपत्र, मेडल तथा कप प्रदान गरिएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले विदुर सिटी युथ क्लवले समाज रुपान्तरणका लागि युवापुस्ताहरु अगाडी आउनु प्रशंसनिय पक्ष रहेको बताउनुभएको छ । उहाँले चाडपर्व, मेला उत्सवसंग गाँसिएका यस्ता विभिन्न पक्षहरुको जगेर्ना आवश्यक रहेको बताउनुभएको छ ।

यस्तै प्रमाणपत्र वितरण तथा कार्यक्रम समापन समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले दशैं आएको भान गराउने चङ्गा र दशैंमा खेलिने लिङ्गे पिङ्गको प्रचलन हराउदै गएकोले त्यसको संरक्षणको लागि युवा समुदायले सञ्चालन गरेको अभियान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले गाउँमा भन्दा शहरमा दसैंको चहलपहच कम हुनुमा यस्तै परम्परालाई निरन्तरता दिन नसक्नु मुख्य कारण गरेको बताउनुभएको छ ।

कार्यक्रमको उद्घाटन समारोह र समापन समारोहका दुवै प्रमुख अतिथिहरुलाई आयोकजले पिङ्ग खेलाएर औपचारिक कार्यक्रमको समापन र दशैं संस्कृति संरक्षण अभियानको सुरुवात गरेका थिए ।

दशैंमा गाउँघरमा खेलिनेजस्तो साझा पिङ्ग शहरमा हालिन छाडेको कार्यक्रममा सहभागिहरुले चिन्ता व्यक्त गरे । नुवाकोट उद्योग बाणिज्य संघका प्रवक्ता सन्तोष उप्रेतीले चङ्गा चेट, पिङ्ग खेलाउने जस्ता गतिविधिलाई शहरबासीबाट निरन्तरता दिन आग्रह गर्दै आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा बोल्नुहुँदै विदुर सिटी युथ क्लवका अध्यक्ष विशाल सापकोटाले आफुहरु धार्मिक तथा ऐतिहासिक महत्व बोकेको विदुर नगरपालिका भित्रको सार्वजनिक स्थान र सम्पत्तिको संरक्षण, मर्मत र सरसफाईमा सक्रिय रहेको बताउनुभएको छ । पछिल्लो पाली युवा पुस्ता सांस्कृतिक रुपमा कम परिचित हुन थालेकोले दशैंसंग जोडिएर आउने पिङ्ग, चङ्गा जस्ता कुराहरुलाई अगाडी बढाईएको बताउनुभएको छ ।

विदुरको समाज सचेतन पुस्तकालय नजिकैको खुल्ला जमिनमा राखिएको लिङ्गे पिङ्ग तयार गर्नका लागि नेपाली सेना र स्थानीयले सघाएको थियो । त्यस्तै पिङ्ग हाल्न र चङ्गा चेट प्रतियोगिता सञ्चालन गर्नका लागि विदुरका स्थानीय व्यक्तिहरुबाट सहयोग रकम जुटेको क्लवका उपाध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top