+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटकी सन्तमाया तामाङले जितिन् १० लाखको बम्पर उपहार

डबली खबर
१ मिनेट अगाडी

कार्तिक १, नुवाकोट । आन्तरिक राजश्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन्।

दशैँका बेला नुवाकोटस्थित एस.एस. फेन्सी हाउसबाट तीन हजार रुपैयाँको सामग्री किनेर बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छानिएको हो। काठमाडौँको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममा चर्चित कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्परसहित दैनिक विजेताहरूको नाम घोषणा गरेका थिए। घोषणा भएलगत्तै कलाकारद्वयले कार्यक्रम स्थलबाटै टेलिफोनमार्फत तामाङलाई जानकारी गराएका थिए।

आन्तरिक राजश्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार उपभोक्तामाझ बिल लिने बानी बसाल्न यो कार्यक्रम लागू गरिएको हो। असोज १६ देखि ३१ गतेसम्मको अवधिमा बिल प्रविष्ट गर्ने २ लाख ७५ हजार ८ सय ८४ जना र क्युआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३ सय ८० गरी कुल ३ करोड ७७ लाख ५५ हजार २ सय ६४ कारोबार यस प्रक्रियामा सहभागी भएका थिए।

विभागले बम्पर उपहारका साथै असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका एक–एक जना गरी कुल १६ जना दैनिक विजेतालाई जनही १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ (कर कट्टीपछि खुद १ लाख रुपैयाँ) घोषणा गरेको छ।

महानिर्देशक भुसालले भने, “असोज १६ देखि ३१ गतेसम्म २ लाख ७५ हजार ८ सय ८४ जनाले बिल सिस्टममा प्रविष्ट गर्नुभएको छ। क्युआर पेमेन्टसहित कुल ३ करोड ७७ लाख ५५ हजार २ सय ६४ कारोबार समावेश भएका छन्। आज १६ जना दैनिक विजेताले जनही १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ पाउनुहुनेछ भने एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गर्नुहुनेछ। विजेताहरूले सक्कल बिलसहित कात्तिक १५ गतेभित्र नजिकैको आन्तरिक राजश्व कार्यालयमा गई पुरस्कार दाबी गर्नुपर्नेछ।”

बम्पर विजेता सन्तमाया तामाङलगायत सबै विजेताहरूले दशैँ बिदा सकिएपछि कात्तिक १५ गतेभित्र आफूले खरिद गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजश्व कार्यालयमा पुगेर रकम दाबी गर्नुपर्ने विभागले जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ