कार्तिक १, काठमाडौं । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा छलफलपछि शनिबार साँझ रिहा भएका छन्।
रिहाइलगत्तै फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने बताएका छन्। साइबर ब्युरो सञ्चारमाध्यमविरुद्धका मुद्दा छिनोफानो गर्ने निकाय नभएको उनले स्पष्ट पारेका छन्।
‘मेरो अघिल्लो गिरफ्तारीमा सर्वोच्च अदालतले समाचार सम्प्रेषण गरेवापत कुनै पनि पत्रकारलाई पक्रन र सञ्चार उपकरण जफत गर्न नपाइने परमादेश गरेको थियो। आज फेरि त्यही मान्यता स्थापित भएको छ,’ उनले लेखेका छन्।
जनआस्था साप्ताहिकमा कमेडियन तथा रास्वपा नेता हिमेश पन्तबारे समाचार प्रकाशित भएपछि दुई पक्षबीच विवाद भएको थियो। विवादपछि शुक्रबार पन्तले श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका थिए भने श्रेष्ठको तर्फबाट पनि पन्तविरुद्ध उजुरी दर्ता भएको थियो। यही उजुरीका आधारमा शनिबार बिहान प्रहरीले घरबाटै उठाएर श्रेष्ठलाई छलफलका लागि भन्दै नियन्त्रणमा लिएर ब्युरो लगेको थियो।
श्रेष्ठले आफूविरुद्ध उजुरी दिने पन्तलाई पनि कुनै गुनासो भए प्रेस काउन्सिल जान आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत व्यक्तिलक्षित टिप्पणी भएको तथ्य पन्तले स्वीकार गरेको उनको जिकिर छ।
‘प्रेसजगतको ऐतिहासिक एकता आज पुनः प्रदर्शन भएको छ। बिहान घरबाट लगिएको म बेलुका घर फर्किएको छु। प्रेस स्वतन्त्रता जिन्दावाद!’ उनले लेखेका छन्।
उनलाई पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको थियो।