असोज ३०, नुवाकोट । विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले दसैँ अवधिमा खानेपानी वितरण तथा मर्मतसम्भार सम्बन्धी सम्भावित समस्यालाई ध्यानमा राख्दै आकस्मिक मर्मतका लागि कर्मचारी खटाइएको छ ।
संस्थाका अनुसार असोज ३१ गतेदेखि कात्तिक ७ गतेसम्म कार्यालयको नियमित प्रशासनिक कामकाज स्थगन रहने जनाएको छ।
संस्थाका सचिव रघुनाथ रिमालद्वारा हस्ताक्षरित सूचनामार्फत उपभोक्ताहरूलाई सतर्कता अपनाउन र आवश्यक परेमा सम्बन्धित क्षेत्रका प्राविधिक कर्मचारीहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
बिदाको समयमा निजी धाराहरूमा पानी सञ्चालन नभएमा वा अन्य कुनै प्राविधिक कठिनाइ आइपरेमा उपभोक्ताको सुविधाका लागि क्षेत्रगत रूपमा जिम्मेवार कर्मचारीहरूको नामावली र सम्पर्क नम्बर सार्वजनिक गरिएको छ।
चाडपर्वको समयमा खानेपानीको सदुपयोग गर्दै मुहान तथा स्रोत वृद्धि कार्यमा सहयोग पुर्याउन र धारामा कुनै समस्या देखिए तोकिएका कर्मचारीलाई तुरुन्त खबर गर्न संस्थाले अनुरोध गरेको छ।