+
Search

ताजा अपडेट +

पपुलर +

सम्पदा संरक्षणमा विद्यार्थी

डबली खबर
२७ मिनेट अगाडी

भदौ ७, विदुर । नुवाकोटको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भैरवी मन्दिर र आसपासका क्षेत्रमा स्थानीय विद्यार्थी तथा शिक्षकहरूले सरसफाइ गरेका छन्।

‘सम्पदा संरक्षण कार्यक्रम–२०८३’ अन्तर्गत त्रिशूली सामुदायिक बोर्डिङ स्कुल र नेशनल बेथल एकेडेमीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

नयाँ पुस्तामा आफ्नो ठाउँ, इतिहास र मौलिक सम्पदाप्रतिको जिम्मेवारीबोध गराउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा दुवै विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले नुवाकोट दरबार क्षेत्र, इन्द्रचोक, धारा, भैरवी मन्दिर र सितलपाटीलगायतका महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थलहरूमा पुगेर सरसफाइ गरेका थिए।

त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका प्रधानाध्यापक सुमन कर्णका अनुसार किताबी ज्ञानमा मात्र सीमित रहेको सम्पदा संरक्षणको विषयलाई व्यवहारमै उतारेर सिकाउन यो पहल गरिएको हो। सरसफाइसँगै विद्यार्थीहरूलाई ती स्थलहरूको ऐतिहासिक पृष्ठभूमि, निर्माणकालीन महत्त्व र संरक्षणको आवश्यकताबारे जानकारी गराइएको थियो।

सम्पदा संरक्षण केवल सरकारी निकाय वा निश्चित संस्थाको मात्र नभई समुदाय, विद्यालय र नयाँ पुस्ताको साझा दायित्व भएको आयोजकहरूको भनाइ छ।

सानै उमेरदेखि आफ्नो संस्कृति र इतिहासप्रति अपनत्व जगाउन सके भविष्यमा जिम्मेवार र सचेत नागरिक तयार हुने विश्वास लिइएको छ।

विद्यार्थीहरूले आफ्नै हातले ऐतिहासिक थलोहरू सफा गर्दै “हाम्रो सम्पदा, हाम्रो जिम्मेवारी” भन्ने भावनालाई व्यवहारमा उतारेर समाजमा सकारात्मक सन्देश प्रवाह गरेका छन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ