साउन १४, विदुर। विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले लामो समयदेखि खानेपानी महसुल नबुझाउने उपभोक्ताहरूको धारा काटिने भएको छ।
संस्थाले आज एक सूचना जारी गर्दै यही साउन १५ गतेदेखि भाद्र १५ गतेसम्मको समयसीमाभित्र बक्यौता रकम भुक्तानी नगरे यसै सूचनालाई आधार मानी जुनसुकै समयमा धारा कट्टा गरिने स्पष्ट पारेको हो।
संस्थाको कार्यसमितिको बैठकको निर्णयानुसार विविध कारणले महसुल तिर्न बाँकी रहेका उपभोक्ताहरूका लागि जरिवाना छुटको विशेष व्यवस्था गरिएको छ।
संस्थाका सचिव रघुनाथ रिमालका अनुसार बाँकी रहेको सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा महसुलमा लागेको सम्पूर्ण जरिवाना पूर्ण रूपमा छुट गरिनेछ।
तोकिएको अवधिभित्र पनि महसुल चुक्ता नगरेमा कुनै पनि समयमा खानेपानीको धारा कट्टा प्रक्रिया अघि बढाइने जनाएको छ। साथै, धारा कट्टा गर्ने क्रममा लाग्ने नियम अनुसारको शुल्क तथा खर्च समेत स्वयम् सम्बन्धित उपभोक्ताले नै व्यहोर्नुपर्नेछ।
संस्थाले यस जरिवाना छुटको अवसरको सदुपयोग गर्दै समयमै बक्यौता रकम चुक्ता गरी सम्भावित कारबाही र थप खर्चबाट बच्न सम्पूर्ण उपभोक्ताहरूमा आग्रह गरेको छ।

प्रतिक्रिया