+
Search

ताजा अपडेट +

पपुलर +

ओम माने पब्लिक स्कुलद्वारा शतप्रतिशत नतिजा ल्याउने विद्यार्थी र शिक्षक सम्मानित

Om Mane Public School honors students and teachers who achieved 100 percent results
डबली खबर
१ मिनेट अगाडी

असार ११, नुवाकोट । ओम माने पब्लिक स्कुलले शैक्षिक सत्र २०८२ को नगरस्तरीय कक्षा ८ र माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरेको छ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरू, उत्कृष्ट नतिजाका लागि अहोरात्र खटिने शिक्षकहरूका साथै विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई प्रशंसापत्र र दोसल्ला ओढाई सम्मान गरेका हुन् ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले सार्वजनिक शैक्षिक गुठी मोडेललाई सरकारले समेत उच्च प्राथमिकतामा राखी प्रबर्द्धन गरेको उल्लेख गरे । गैरनाफामूलक ढंगले गुणस्तरीय शिक्षा प्रदान गरेर स्कुलले नगरकै गौरव बढाएको चर्चा गर्दै श्रेष्ठले विद्यालयको भौतिक उन्नयन, पूर्वाधार विकास तथा संरक्षणका लागि विदुर नगरपालिकाको तर्फबाट आगामी दिनमा पूर्ण सहयोग र साझेदारी रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा विद्यालय सार्वजनिक शैक्षिक गुठीका अध्यक्ष रामहरी पाण्डेले सबैको सामूहिक प्रयास र विश्वासलेनै विद्यालयको उचाईंमा पुगेको बताउँदै आगामी दिनमा अझ परिस्कृत र प्रविधिमैत्री शिक्षा दिँदै जाने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं विद्यालय सञ्चालक सरोज बोगटी, सहप्राध्यापक सुकमान डंगोल, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतको उपस्तिथी रहेको थियो । कार्यक्रममा वक्ताहरूले नाफामूलक व्यावसायिकता भन्दा माथि उठेर जिल्लाको शैक्षिक गुणस्तर सुधार्न गुठीले खेलेको भूमिका उदाहरणीय रहेको बताएका छन् ।

वि.सं. २०५८ सालदेखि निरन्तर सेवामुखी भावनाले सञ्चालित उक्त स्कुलले कुल विद्यार्थी संख्याको २९ प्रतिशतलाई पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गरेर विपन्न एवं जेहेन्दार बालबालिकाको शिक्षामा सहजता गर्दै आईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अपार बोहराले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक गोविन्द प्याकुरेलले विद्यालयको ऐतिहासिक पृष्ठभूमि र वर्तमान शैक्षिक अवस्थाबारे प्रकाश परेका थिए ।

कार्यक्रममा विद्यालयको शैक्षिक एवं भौतिक उत्थानमा अनवरत सहयोग पुर्‍याउँदै आएका गुठियारहरू रूपा अर्याल, रामशरण बोगटी, भरत पाण्डे र केशव पाण्डे लगायत कर्मचारीहरूलाई सम्मान गरिएको थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ