+
Search

ताजा अपडेट +

पपुलर +

भू-सेवा केन्द्रको अधिकतम सेवा शुल्क निर्धारण

bhu sewa kendra Nuwakot rate list
डबली खबर
२५ मिनेट अगाडी

जेठ ५, विदुर । भूमि प्रशासन कार्यालय नुवाकोट अन्तर्गतका भू-सेवा केन्द्रहरूले प्रवाह गर्ने सेवाबापत लिने अधिकतम शुल्कको नयाँ दररेट निर्धारण गरिएको छ।

भू-सेवा केन्द्र व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीको अध्यक्षतामा बसेको उक्त बैठकले नुवाकोट जिल्लाभरका भू-सेवा केन्द्रहरूमा एकरुपता आउने र सेवाग्राहीहरू ठगिने क्रम रोकिने विश्वास कार्यालयले लिएको छ।

बैठकले आज जेठ ५ गते मंगलबारदेखि लागू हुने गरी नयाँ सेवा शुल्क निर्धारण गरिएको हो।  समितिले सेवाग्राहीलाई मर्का नपर्ने गरी विभिन्न १६ वटा शीर्षकका कार्यहरूको अधिकतम मूल्य तोकेको छ।

भूमि प्रशासन कार्यालय नुवाकोटका प्रमुख धर्मराज रोकायाका अनुसार विभिन्न प्रशासनिक र कानुनी प्रक्रियाका कार्यहरूलाई सहज र व्यवस्थित बनाउन यो शुल्क निर्धारण गरिएको हो।

समितिको निर्णय अनुसार नामसारी, राजिनामा, सट्टापट्टा, दर्ता फारी, हक छोड-पत्र, सगोलनामा, हालैको बकस-पत्र, शेष पछिको बकस-पत्र, तथा दान बकस वा दान-पत्र जस्ता महत्वपूर्ण कार्यहरूको अधिकतम सेवा शुल्क प्रतिप्रतिवेदन वा कार्य तीनहजार रुपैयाँ तोकिएको छ।

यसैगरी धितो बन्धक वा दृष्टि बन्धक लिखतका लागि एकहजार रुपैयाँ, सबै किसिमका दाखिला खारेजका लागि दुईहजार पाँचसय रुपैयाँ र अंशबण्डा-पत्र वा अंश भरपाईका लागि अधिकतम चारहजार रुपैयाँ सेवा शुल्क कायम गरिएको छ।

अन्य सामान्य तथा विविध सेवातर्फ घर कायम वा संशोधनका लागि एकहजार रुपैयाँ, मोही दा.खा. का लागि सातसय रुपैयाँ, लालपुर्जाको प्रतिलिपिका लागि पाँचसय रुपैयाँ र अन्य विभिन्न किसिमका निवेदनहरूका लागि पाँचसय रुपैयाँ अधिकतम शुल्क निर्धारण गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ