+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अस्पतालको सेवा प्रवाहमा गुणात्मक सुधार

Trishuli Hospital by Sunil Shrestha Dabali Khabar
सुनील श्रेष्ठ
२ दिन अगाडी

१६ वैशाख, नुवाकोट । त्रिशूली अस्पतालले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त अवधि (माघ, फागुन र चैत मसान्त) सम्म सार्वजनिक गरिएको यस विवरणले अस्पतालको सेवा प्रवाह र आर्थिक पारदर्शिता देखाएको छ । एकसय शैयाको अस्पतालले नुवाकोटसहित धादिङ र रसुवा जिल्लाका नागरिकहरूका लागि समेत सेवा पुर्याउँदै आएको छ ।

आर्थिक वर्षको पहिलो, दोस्रो र तेस्रो त्रैमासिक अवधिमा अस्पतालको वित्तीय व्यवस्थापन सुदृढ देखिएको छ । अस्पतालको आम्दानीको मुख्य स्रोतमा प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक सेवा शुल्क र स्वास्थ्य बीमा बापतको शोधभर्ना रहेका छन् ।

प्रतिवेदनअनुसार, लक्षित बजेटको ठूलो हिस्सा कर्मचारी व्यवस्थापन, जटिल उपकरण खरिद, र निःशुल्क औषधि वितरणमा खर्च भएको छ ।

अस्पतालले न्यून शुल्क र आवश्यक अवस्थामा पूर्ण वा आंशिक छुटका माध्यमबाट विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याएको छ । विशेष गरी आकस्मिक उपचार र मातृ स्वास्थ्यका क्षेत्रमा विनियोजित बजेटको अधिकतम उपयोग भएको देखाएको छ ।

अस्पतालका विभिन्न विभागहरूको तथ्याङ्कलाई हेर्दा बहिरङ्ग सेवामा बिरामीहरूको चाप सबैभन्दा उच्च रहेको छ । विशेषज्ञ डाक्टरहरूको नियमित उपलब्धताका कारण हाडजोर्नी, प्रसूति, तथा जनरल सर्जरी युनिटहरूले उल्लेख्य प्रगति हासिल गरेका छन् । प्रयोगशाला र रेडियोलोजी विभागले आधुनिक उपकरणको प्रयोगमार्फत् निदान प्रक्रियालाई छिटो र छरितो बनाएका छन् ।

यसैगरी, आकस्मिक कक्षले चौबीसै घण्टा सघन सेवा प्रदान गर्दै आएको छ भने फार्मेसीले सरकारद्वारा घोषित निःशुल्क औषधिहरूको उपलब्धता सुनिश्चित गरेको छ । अस्पतालले उपचारात्मक सेवाका अतिरिक्त खोप, पोषण र जनचेतनामूलक प्रतिकारात्मक सेवाहरूमा पनि आफ्नो सक्रियता बढाएको उल्लेख छ ।

अस्पतालले सीमित भौतिक पूर्वाधारका बाबजुद पनि गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । दक्ष जनशक्ति र अत्याधुनिक प्रविधिको समायोजनले गर्दा जिल्ला बाहिर उपचारका लागि जानुपर्ने बाध्यतामा कमी आएको संकेत गरेको छ ।

बढ्दो बिरामीको चापलाई सम्बोधन गर्न थप शैया विस्तार र विशिष्टीकृत सेवाहरूको थप सुदृढीकरण आवश्यक औल्याएको छ । अस्पताल प्रशासनले आगामी दिनमा सेवालाई अझ प्रविधिमैत्री बनाउँदै नागरिकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ