२८ चैत, विदुर । नुवाकोट जिल्लामा जन्मिएर विभिन्न सरकारी सेवामा आबद्ध रहेका तथा सेवा निवृत्त कर्मचारीहरूको साझा संस्था राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको आज कार्यालय स्थापना गरिएको छ ।
विदुर नगरपालिका वडा नं. २ विदुरस्थित बालसंगठनको भवनमा आयोजित एक विशेष समारोहका बीच नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र संस्थाका अध्यक्ष उदय रानामगरले संयुक्त रुपमा संस्थाको कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् ।
संस्थाका अध्यक्ष उदय रानामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको स्थापनाको उद्देश्य र आगामी कार्यदिशाबारे प्रष्ट पारिएको थियो।
संस्थाले जिल्लाभित्र रचनात्मक, स्वास्थ्य र सेवामूलकलगायतका गतिविधिहरूलाई अगाडि बढाउँदै आईरहेको छ। संस्थाले रक्तदान, कर्मचारीहरूको शारीरिक तन्दुरुस्ती र आपसी मित्रताका लागि ब्याडमिण्टन प्रतियोगिता तथा विभिन्न सामाजिक एकताका कार्यहरूमा सक्रिय भूमिका खेल्दै आएको छ।
आगामी दिनमा पनि लोककल्याणकारी र रचनात्मक क्रियाकलापहरूसंगी कर्मचारीको क्षमता अभिवृद्धिको लागि प्रशिक्षणलाई समेत निरन्तरता दिँदै जिल्लाको समग्र विकास र सामाजिक सद्भावमा योगदान पुर्याउने प्रतिबद्धता संस्थाले जनाएको छ।