२० चैत, विदुर । जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा परिवार योजना तथा प्रजनन स्वास्थ्य सेवाको तथ्याङ्क सुदृढिकरण सम्बन्धी कार्यक्रम आज बट्टारमा भएको छ।
‘एफपि डाटा प्रो’ प्रणालीसहित सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय तहका स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायको सहभागिता रहेको कार्यालय प्रमुख डा. अञ्जु कार्कीले जानकारी दिए ।
कार्यक्रमको मुख्य उद्देश्य परिवार योजना तथा प्रजनन स्वास्थ्य सेवासम्बन्धी तथ्याङ्क संकलन, अभिलेखीकरण र विश्लेषणलाई अझ प्रभावकारी बनाउनु रहेको आयोजकले जनाएको छ। पछिल्लो समय स्वास्थ्य सेवामा डिजिटल प्रणालीको प्रयोग बढ्दै गइरहेको सन्दर्भमा उक्त प्रणालीमार्फत सेवा प्रवाहमा पारदर्शिता र गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रशिक्षक विनोद जोशीले सहजीकरण गरेका थिए । उनले तथ्याङ्क व्यवस्थापनको महत्व, सही र समयमै तथ्याङ्क प्रविष्टिको आवश्यकता तथा सेवाको गुणस्तर सुधारमा यसले खेल्ने भूमिकाबारे सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।
जनस्वास्थ्य कार्यालय नुवाकोटका अनुसार यस प्रकारका कार्यक्रमले स्थानीय तहमा स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। आगामी दिनमा पनि यस्ता तालिम तथा अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ।
कार्यक्रमका सहभागीहरूले तालिम समयसापेक्ष, व्यावहारिक र अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया