१० माघ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि तरकारी तथा फलफूलमा विषादी अवशेषको परीक्षणलाई तीव्रता दिएको छ।
विभागको र्यापिड रेस्पोन्स टिमले मोवाइल फुड ल्याव भ्यान प्रयोग गरी कालीमाटी तरकारी तथा फलफूल बजारमा एकैदिन १०८ गाडीका तरकारीको विषादी परीक्षण गरेको छ ।
गत माघ ८ गते राति ११ बजेदेखि ९ गते बिहान ४ बजेसम्म सञ्चालन गरिएको स्थलगत परीक्षणमा १५० नमूना संकलन गरिएको थियो। परीक्षणमा आलु, प्याज, गोलभेंडा, फूलगोभी, बन्दाकोभी, खुर्सानी, धनियाँ लगायत २२ प्रकारका तरकारी तथा फलफूलको नमूनाहरू लिईएको जनाएको छ ।
परीक्षणमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४२ प्रतिशतसम्म इन्जाइम इन्हिबिशन पाइएको थियो। मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम इन्जाइम इन्हिबिशन भएकालाई खान योग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशत इन्जाइम इन्हिबिशन भएका नमूनालाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गरिने जनाएको छ ।
४५ प्रतिशतभन्दा बढी भएमा ती सामग्रीलाई अस्वीकृत गरी नष्ट गरिन्छ। यस क्रममा चितवनबाट ल्याइएको हरियो सिमीको एक नमूनामा ४२ प्रतिशतसम्म इन्जाइम इन्हिबिशन पाइएको थियो ।
काठमाडौंको कालीमाटी बजारमा आएको तरकारी तथा फलफूल भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ, चितवन, परासी, मकवानपुर, सर्लाही, सिन्धुली, तनहुँ, पर्वत, काठमाडौं, स्याङ्जा, गोर्खा, ललितपुर, पर्सा, रामेछाप, सुनसरी, बारा, कास्की लगायत २० जिल्लाबाट ल्याइएको थियो। परीक्षण गरिएको १०८ गाडीमध्ये एक गाडी भारतबाट आएको थियो।
मोवाइल फुड ल्याव भ्यानमा अत्याधुनिक उपकरण जडान गरिएको छ, जसले बजारमा अनुगमन र तत्काल परीक्षण गर्न सहज बनाएको छ। यसले आवश्यक कारवाही गर्न, खाद्य व्यवसायीहरूलाई सचेत गराउन र उपभोक्तालाई सुरक्षित खाद्य सामग्री उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको विभागले बताएको छ।
विभागले यस्तो प्रयासलाई नियमित राख्ने र बजारमा विक्री हुने खाद्य सामग्रीको गुणस्तरमा ध्यान दिन उपभोक्तालाई समेत आग्रह गरेको छ।

प्रतिक्रिया