+
Search

ताजा अपडेट +

पपुलर +

उद्योग दिवसमा छ उद्यमी सम्मानित

sixth entrepreneur rewarded in 10th industrial day in Nuwakot
डबली खबर
१ साल अगाडी

विदुर – दशौं उद्योग दिवसको अवसरमा नुवाकोट जिल्लाका छ उद्यमीहरु सम्मानित भएका छन् ।

कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत जिल्लाका उद्यमीलाई थप प्रोत्साहन गर्नका लागि सम्मान गरिएको उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले जानकारी दिए ।  जिल्लाका सञ्चालित तारजाली उद्योग, पाईप उद्योग, क्यान्डी उद्योग, कृषि फर्म, बाख्रा फर्मलगायतका उद्योगहरुका सञ्चालकहरु सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा विदुर नगरपालिका-९ जफतीमा सञ्चालित बागमती ग्याबिन बक्सका उपेन्द्र बुढाथोकी, वडा नम्बर ५ पिपलटारमा सञ्चालित मनमैंजु इण्डष्ट्रिजका अमृतप्रसाद दुवा, वडा नम्बर-१२ माथिल्लो कठेरीमा सञ्चालित ज्ञानु क्याण्डीकी ज्ञानु तामाङ, तादी गाउँपालिका-३ प्रभुडाँडामा सञ्चालित जलेश्वरी बाख्रा फर्मका रमेशकुमार बस्नेत, नमुञ्जेत कृषि फर्मकी कान्छीमाया तामाङ र म्यागङ गाउँपालिका-३ फासाङमा सञ्चालित वाईबा कृषि फर्मका प्रकाश तामाङ रहेका छन् ।

सम्मानित उद्योगी तथा व्यवसायीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले जिल्लामै उत्पादित दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरेका छन् ।

नुवाकोट उद्योग वाणिज्य सङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र जिल्ला लघु उद्यमी संघ नुवाकोटको सिफारिसलाई छनौट गरी उद्योग दिवसमा उद्यमी सम्मान गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा समन्वय प्रमुख ठकुरी, जिल्ला प्रशासन कार्यालयका प्रमुख रामकृष्ण अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कविन्द्रमान प्रधानलगायत सरोकारवालाहरुले उद्योग दिवस दिवसमा मात्रै सीमित नभई उत्पादनमा आधारित हुनुपर्नेमा जोड दिएका थिए ।

‘उद्यमशील संस्कृतिः राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ उद्योग दिवस मनाइएको हो ।

१९९२ मंसिर ९ गते नेपालमा पहिलोपटक उद्योग परिषद स्थापना भएको दिनलाई स्मरण गर्दै २०७२ सालदेखि उद्योग दिवस मनाउन थालिएको हो । २०७१ साल चैत २० गते मन्त्रिपरिषद बैठकले मंसिर ९ गतेलाई उद्योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ