नुवाकोट – त्रिभुवन त्रिशूली बहुमुखी कलेजले पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र कलेजका अध्यक्ष नारायण श्रेष्ठको उपस्तिथिमा त्रिकास साकोस अध्यक्षका अनिलकुमार श्रेष्ठ, साँघु बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कुमारमान मलेकु र माता मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नविनकृष्ण राजभण्डारीले पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।
विद्यार्थीलाई छात्रवृत्तिको जनही रु पाँच हजार नगद र शैक्षिक सामग्री प्रदान गरिएको कलेजका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
छात्रवृत्ति प्राप्त गर्नेमा सजना खाती, उर्मिला मिजार, अमिशा तामाङ, पार्वती थापामगर र शान्ति मिजार रहेका छन् ।
यसअघि पनि संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड र त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २/२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको कलेजकी प्रिन्सिपल रीता पछाईले जानकारी दिईन् ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले कलेजको शैक्षिकस्तर र भौतिक पूर्वाधारके लागि चालु आर्थिकवर्षमा फर्निचर र ल्यापटप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कलेजका अध्यक्ष श्रेष्ठले कलेजको वर्तमान अवस्था, समस्या, चुनौती र सम्भावनाबारे जानकारी गराए ।
साथै कलेजलाई हाल अमेरिका रहेका डा. दिपेन्द्र दाहालले ४० हजार बराबरको सामाग्री खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।
प्रतिक्रिया