+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन सिक्दै सिकाउँदै विद्यार्थी, प्रतिक र सम्झना निर्वाचित

school captain and vice captain election in souvenir boarding school battar bidur municipality nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – विद्यालयमा पढ्दै व्यवहारिक ज्ञान सिक्दै आज सुभेनियर बोर्डिङ स्कुलका विद्यार्थीले निर्वाचनको अभ्यास गरेका छन् ।

नमुना निर्वाचन झैं देखिने विद्यालयको कप्तान र उपकप्तान छनौट पद्धतिको निर्वाचनबाट कप्तान प्रतिक बस्नेत र उपकप्तान सम्झना तामाङ निर्वाचित भएका छन् ।

निर्वाचनबाटै ४/४ ‘हाउस’ कप्तान र उपकप्तान निर्वाचित भएका छन् । निर्वाचनको नतिजाअनुसार पहेंलो ‘हाउस’को कप्तानमा आयुष आचार्य र प्रनिशा रिमाल उपकप्तान र हरियो ‘हाउस’को कप्तानमा पुजन विष्ट र अर्चना भुजेल उपकप्तान पदमा निर्वाचित भएका छन् ।

यसैगरी, रातो ‘हाउस’को कप्तानमा सबिनकुमार ढुंगाना र समृद्धि प्रधान श्रेष्ठ उपकप्तान र निलो ‘हाउस’को कप्तानमा जेनिथ बोगटी र जिज्ञाशा पुडासैनी उपकप्तान पदमा निर्वाचित भएका छन् ।

मतपत्रमा किताब, कम्पास, ब्याडमिन्टन, बेल्ट, कलम, कापी, भकुण्डो, कुर्सी लगायतका स्टेशनरी र खेलकुदका २० ओटा विभिन्न अङ्कित चुनाव चिन्ह प्रयोग गरिएको थियो । मतपत्रमा विद्यार्थी उम्मेदवारको नाम उल्लेख थिएन ।

उम्मेदवारले निर्वाचन चिन्ह लिने प्रक्रिया पनि आमनिर्वाचनको प्रयास स्वरूप गरिएको थियो ।

मतदाता पहिचान गरिँदै ।

“कक्षा ५ देखि १० सम्मको सामाजिक विषयमा रहेको स्थानीय तह, प्रदेश र सङ्घीयको विषयगत ज्ञानको लागि हरेक वर्ष विद्यालयमा कप्तान र उपकप्तान छनौट गर्ने गरेका छौं”, निर्वाचन अधिकारी तथा विद्यालयका प्रधानाध्यापक ताराबहादुर कार्कीले भने “विद्यालयको आन्तरिक तथा बाह्य क्रियाकलापहरुमा निर्वाचित कप्तान र उपकप्तानहरुले सहजीकरण गर्नेछ । विद्यालयको शैक्षिक, व्यवस्थापन र सम्बन्ध स्थापित गर्न भूमिका खेल्नेछ ।”

“उम्मेदवारको दर्ता, मनोनयन, दावी विरोध प्रक्रिया निर्वाचनको आचारसंहिता अनुसारनै गरेका थियौं”, उनले भने “निर्वाचनका उम्मेदारलाई निर्वाचनको प्रक्रियाबारे पूर्ण जानकारी समेत दिएका थियौं ।”

निर्वाचनमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले आफ्नो मतदान गरेका थिए । मतदानको समयावधिपछि मतपेटिका लालमोहर लगाउने, सिल गर्ने र मुचुल्का उठाउने कार्य गरिएको थियो ।

मतदान गरेको पहिचान लगाएको औंला देखाउँदै एक छात्रा ।

मतदान गरेका मतदाताहरुको औलामा कालो रङ्गको पहिचान लगाईएको थियो ।

निर्वाचित कप्तान र उपकप्तानहरुको नामावली प्रकाशन गर्नुको साथै निर्वाचन अधिकारी कार्कीले प्रमाणपत्र प्रदान गरेका थिए ।

मतदान गर्दै एक छात्रा ।

सामाजिक शिक्षामा भएको निर्वाचन शिक्षालाई यदि प्रयोगात्मकरूपमा बुझाउनुको साथै विद्यार्थीहरूलाई निर्वाचन र मतदानको प्रत्यक्ष अनुभव गराइयो भने मात्र विद्यार्थीले निर्वाचन शिक्षाको व्यावहारिक ज्ञान पाउनुको साथै स्वच्छ प्रतिस्पर्धाको पनि अभ्यास विद्यालयमैं गराउन सकिन्छ भने हेतुले निर्वाचन अभ्यास गरिएको निर्वाचन कार्यक्रम संयोजक काजि खाँले बताए । 

“सही नेतृत्व छनोट गर्न र नेतृत्वलाई देश र नागरिकप्रति दायित्व बुझाउने काम एउटा शिक्षित विद्यार्थीभन्दा राम्रो कसैले गर्न सक्दैन ।”

सामाजिक विषयप्रति रहेको नकारात्मक धारणा बदल्न समेत निर्वाचन अभ्यासले सघाउ पुग्ने उनको भनाइ छ ।

३३ जना विद्यार्थीहरुलाई स्वयंसेवक खटाईएको निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय नुवाकोटले चार मतपेटिका उपलब्ध गराएको थियो ।

निर्वाचन स्वच्छ, निष्पक्ष ढङ्गले भए नभएको निरीक्षणको लागि निर्वाचन सुपरिवेक्षकहरु समेत खटाईएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ