१४ माघ, नुवाकोट । विदुर नगरपालिका वडा नं. २ स्थित भीमसेन माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि विदुर नगरपालिका वडा नं. २ का अध्यक्ष दिपक कायस्थले विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा पुर्याएको योगदान अतुलनीय रहेको बताए । उनले शिक्षा केवल किताबी ज्ञानमा मात्र सीमित नभई संस्कार र व्यवहारमा देखिनुपर्नेमा जोड दिँदै समुदाय र विद्यालयबीचको सहकार्यले मात्र गुणस्तरीय जनशक्ति उत्पादन हुन सक्ने धारणा व्यक्त गरे ।
विद्यालयको शैक्षिक र भौतिक सुधारका विविध पक्ष वडा तथा नगरपालिकाले चालुआर्थिक वर्षमा बजेट विनियोजन गरेको समेत उनले जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मेनुका श्रेष्ठले विद्यार्थी, शिक्षक र अभिभावकको सहकार्यमा विद्यालयको शैक्षिक गुणस्तर तथा संस्कारयुक्त शिक्षाका लागि समुदायसँग रहेर कार्य गरिने बताईन् ।
समारोहमा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले विद्यालयको हालको वस्तुस्थिति तथा चुनौती, शैक्षिक प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विद्यालयमा कक्षा ११ र १२ अन्तर्गत प्राविधिकधारको अध्यापनमा गरी विद्यार्थी आकर्षण गर्ने लगायतका कदमहरूका बारेमा जानकारी गराउँदै अभिभावकहरूको सुझाव र सहयोगको अपेक्षा गरेका थिए ।
वार्षिकोत्सवको विशेष आकर्षणको रूपमा विद्यार्थीहरूद्वारा निर्मित विज्ञान सामग्रीहरूको प्रदर्शनी गरिएको थियो ।
विद्यार्थीहरूले आफ्नै सिर्जनशीलतामा तयार पारेका विभिन्न वैज्ञानिक मोडेल र उपकरणहरूले उपस्थित अभिभावक तथा अतिथिहरूको ध्यान आकर्षण गरेको थियो । यस किसिमको प्रदर्शनीले विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटन हुनुका साथै प्रयोगात्मक सिकाइमा सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ ।
सोही अवसरमा शैक्षिक सत्रभर उत्कृष्ट नतिजा हासिल गर्ने तथा विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, शिक्षाप्रेमी र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।




















प्रतिक्रिया