sujim bazar advert

ग्लोबल आइएमईद्वारा विविध १९ कार्यक्रम घोषणा

डबली खबर     पुस १८, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

logo of global ime bank
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१८ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रूपमा १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित बैंकले वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानवीय सहयोग तथा आयआर्जन अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ। बैंकले विगतका वर्षहरूमा जस्तै यसपटक पनि गरिब, विपन्न, न्यून आय भएका तथा दुर्गम क्षेत्रका समुदायलाई लक्षित गर्दै सामाजिक योगदानलाई निरन्तरता दिएको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा घोषणा गरिएका प्रमुख कार्यक्रममध्ये ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ विशेष महत्वको रहेको छ। यसअन्तर्गत सातै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ, जहाँ स्त्रीरोग विशेषज्ञमार्फत स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा आवश्यक औषधि वितरण गरिनेछ।

प्रारम्भिक तथा गम्भीर अवस्थाका बिरामी महिलाहरूको शल्यक्रिया उपचार दोस्रो चरणमा गरिने व्यवस्था पनि गरिएको छ। नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिला लाभान्वित भइसकेका छन्।

त्यसैगरी, बैंकले सातै प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गर्नेछ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित गरिब तथा न्यून आय भएका नागरिकलाई लक्षित यस कार्यक्रमले दुर्गम क्षेत्रका नागरिकको आँखासम्बन्धी समस्या समाधानमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ। साथै, सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १,५०० विद्यार्थीको आँखा परीक्षण गरी निःशुल्क चश्मा वितरण गरिनेछ।

स्वास्थ्य क्षेत्रमै बैंकले विभिन्न प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै जटिल तथा दीर्घ रोगका बिरामीको उपचारका लागि स्थानीय तह तथा स्वास्थ्य संस्थाको सिफारिसमा आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ।

शिक्षा क्षेत्रमा ग्लोबल आइएमई बैंकले कक्षा ६ देखि १२ सम्म अध्ययनरत गरिब तथा जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। विगत पाँच वर्षमा १४० छात्रा लाभान्वित भइसकेको यो कार्यक्रम यस वर्ष थप ७७ छात्रामा विस्तार गरिनेछ। दुर्गम विद्यालयमा पुस्तकालय निर्माण, १ हजार विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचार तालिम तथा सामग्री हस्तान्तरण पनि कार्यक्रमको हिस्सा रहेका छन्। साथै, अर्थशास्त्र, व्यवस्थापन र कानुन संकायमा उच्च शिक्षा अध्ययनरत गरिब तथा मेधावी विद्यार्थीलाई एमफिल तथा पीएचडी अनुसन्धानका लागि आर्थिक सहयोग प्रदान गरिनेछ।

वातावरण संरक्षणतर्फ ग्लोबल ग्रिन स्कूल कार्यक्रम अन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाइ अभियान र फोहोर संकलन केन्द्र स्थापना गरिनेछ। स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिने बैंकले जनाएको छ।

यसैगरी, मुख्य शहरहरूमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने आश्रम र बालगृहका बालबालिकालाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग प्रदान गरिनेछ। सूचना प्रविधिको विकाससँगै बालबालिकामा देखिएको अटिजमबारे चेतनामूलक कार्यक्रम सञ्चालन गरी आवश्यक सहयोग पुर्‍याइनेछ। स्वस्थ, अनुशासित युवा जनशक्ति निर्माणका लागि दुर्गम क्षेत्रका विद्यालय र समुदायमा खेलकुद सामग्री वितरण गरिने पनि बैंकले जनाएको छ।

आयआर्जन क्षमता अभिवृद्धि गर्न उद्यमशाला कार्यक्रम सञ्चालन गरिनेछ, जसअन्तर्गत गरिब तथा न्यून आय भएका व्यक्तिलाई व्यवसायिक र सीपमूलक तालिम प्रदान गरिनेछ। साथै, बैंकका ३५२ वटै शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी विद्युतीय ठगी न्यूनीकरण तथा बैंकिङ प्रणालीमा सर्वसाधारणको पहुँच विस्तार गरिनेछ।

यी सबै पहलहरूले समाजका कमजोर वर्गलाई प्रत्यक्ष लाभ पुर्‍याउने र दीर्घकालीन सामाजिक–आर्थिक विकासमा योगदान दिने विश्वास बैंकले लिएको छ। ग्लोबल आइएमई बैंकले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर नेपाली बैंकिङ क्षेत्रमा सकारात्मक उदाहरण प्रस्तुत गरेको भन्दै यसको प्रभाव स्वास्थ्य, शिक्षा र वातावरणीय जागरणमा दूरगामी हुने अपेक्षा गरिएको छ।

बैंकले गत वर्ष पनि देशभर १८ हजार बिरुवा रोपण गर्ने घोषणा गरेकोमा स्थानीय तह र संघसंस्थासँगको सहकार्यमा करिब २१ हजार बिरुवा रोपण गरी वातावरण संरक्षण र जीविकोपार्जनमा सहयोग पुर्‍याएको थियो।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top