५ मङ्सिर, नुवाकोट । विदुर नगरपालिका–८, हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयमा कक्षा ११ र १२ को सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषय अन्तर्गत “शिक्षा र स्वास्थ्यमा आवश्यकता, स्थानीय सरकारको प्राथमिकता” विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबिन श्रेष्ठको अध्यक्षतामा भएको विद्यार्थी र विज्ञबीच सीधा संवाद कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको छलफलमा विदुर नगरपालिका-८ का वडा अध्यक्ष कमल श्रेष्ठ, ९ नम्बरका अध्यक्ष हरिराम भण्डारी, डा. सन्देशराज उपाध्याय र नगर शिक्षा अधिकृत नवराज सापकोटा प्यानलिष्टको रूपमा रहेका थिए ।
कार्यक्रममा वडा नं. ९ का अध्यक्ष हरिराम भण्डारीले गुणस्तरीय शिक्षा र स्वास्थ्य विना समुन्नत विकास असम्भव हुने भएकोले समाज, समुदाय र अन्य विकासको निमित्त स्थानीय सरकारले नीतिगत कार्यक्रममार्फत आवश्यक बजेट, कार्यान्वय र अनुगमन गरिरहेको बताए ।
त्यस्तै, वडा नं ८ का अध्यक्ष कमल श्रेष्ठले विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र जनाप्रनिधि एकजुट भए शिक्षा क्षेत्रमा फड्को मर्न सक्ने भनाइ राखे । विकास र प्रगति एकैपटक नहुने बताउँदै अध्यक्ष भण्डारीले जटिल कार्य स्थानीय सरकारको मातहतमा रहेका वडाले गर्ने भएकोले शिक्षक र विद्यार्थीले संयमित भएर बुझ्नुपर्ने बताए । विद्यार्थी अनुशासित भएर अध्ययन गर्नुपर्ने र आफ्ना भाईबहिनी विद्यार्थीहरुलाई पनि सोहिअनुसारको बुझाई गरी दिनुपर्ने बताए ।
कार्यक्रममा त्रिशूली अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सन्देशराज उपाध्यायले विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजित गर्नुपर्ने बताउँदै स्थानीय तहले स्वास्थ्य क्षेत्रमा देखाए जवाफदेहीता सहरानिय रहेको बताए । आपतकालीन तथा महामारीको समय पनि स्वास्थ्यकर्मीले आवश्यक मापदण्ड पुर्याएर सेवा गरेको बताए ।
यसैगरी कार्यक्रममा विदुर नगरपालिका कार्यालयका शिक्षा अधिकृत नवराज सापकोटाले जिल्लामा धेरै समयपछि आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य तथा शिक्षा विशेषज्ञ, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूबीच प्यानल छलफलले स्थानीय तहको सरकार संरचना नागरिकले शिक्षा प्राप्तिमा सहज भएको बताए । साथै, माध्यमिक परीक्षापछि विद्यार्थीहरु वैदेशिक रोजगारीमा लाग्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।
वडाध्यक्ष द्वयले यस्ता सिर्जनशील, ज्ञानबर्धक र सूचनामूलक कार्यक्रममा वडाको सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुले कार्यपत्रमा आधारित रही जनप्रतिनिधि, शिक्षा अधिकृत र स्वास्थ्यकर्मीहरूलाई प्रश्न गरेका थिए ।
दुई सत्रमा विभाजित कार्यक्रममा शिक्षकत्रय बद्रीप्रसाद बडाल, दिनेशकुमार श्रेष्ठ र मञ्जिल श्रेष्ठद्वारा तयार पारिएको कार्यपत्र शिक्षक बद्रीप्रसाद वडालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य गोकर्ण रोक्का, विद्यालय सहायक प्रधानाध्यापक कृष्णकिशोर खतिवडा, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको कक्षा ११/१२ का संयोजक नारायण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया