२३ कात्तिक, काठमाडौं । स्वदेशी आईटी प्रविधि तथा सेवालाई प्रवर्द्धन गर्न आयोजना गरिएको नेपालकै एक ठूलो आईटी तथा व्यवसायिक प्रदर्शनी ‘टिग नास आईटी एक्सपो २०२५’ सम्पन्न भएको छ ।
नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) को आयोजनामा भएको दुईदिने प्रदर्शनीमा दुईहजार ५०० भन्दा बढीले प्रदर्शनी अवलोकन गरेको आयोजक नास-आईटीका अध्यक्ष गौरव पाण्डेले जानकारी दिए । प्रदर्शनीले नेपालको डिजिटल इकोसिस्टम विकासका लागि सहकार्य, नवप्रवर्तन र प्रवर्द्धनमा जोड दिएको उनले जानकारी बताए ।
प्रविधि र अवसरबीचको पुल निर्माण गर्न आयोजना भएको प्रदर्शनी भव्यताका साथ समापन भएको नास-आईटीका अध्यक्ष गौरव पाण्डेले बताए । ‘एक्सपोमार्फत प्रविधि र अवसरबीचको पुल निर्माण गर्ने उद्देश्य हामीले हासिल गरेका छौं,’ उनले भने,‘यसले नेपालको आईटी उद्योगका लागि नयाँ मापदण्ड स्थापित गरेको छ ।’
कात्तिक २१ र २२ गते ललितपुरको सानेपामा भएको प्रदर्शनीमा उद्यमी, व्यवसायी, सरकारी अधिकारी, विदेशी नियोग तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि, विद्यार्थीलगायत प्रविधिप्रेमीहरूको सहभागिता रहेको थियो ।
प्रदर्शनीमा नयाँ उत्पादन सार्वजनिक, स्टार्टअप नवप्रवर्तन, सफ्टवेयर सेवाहरूमा विशेष अफर, क्लाउड सोलुसन र डिजिटल उपकरणहरू प्रस्तुत गरिएका थिए । साथै, लाइभ पिच डेक सत्रमार्फत् कम्पनीहरूले आफ्ना आइडिया, अफर र सहकार्यका अवसरहरू समेत प्रस्तुत गरेका थिए ।
नास-आईटीका अनुसार प्रदर्शनीले नेपालको प्रविधि इकोसिस्टमलाई एकत्रित गर्दै नवप्रवर्तन, उद्यमशीलता र सहकार्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सशक्त बनाउने माइलस्टोन रूपमा आफूलाई स्थापित गरेको छ ।



















प्रतिक्रिया