९ भदौ, नुवाकोट। धादिङको गल्छीबाट नुवाकोटको त्रिशुली बजार जोड्ने मुख्य सडकको जोखिमपूर्ण स्थानमा प्रहरीले ड्रममा बालुवा भरेर कृत्रिम डिभाइडर प्रयोगमा ल्याएको छ ।
जोखिमपूर्ण स्थानमा सवारी दुर्घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय नुवाकोट अन्तर्गतका ट्राफिक प्रहरी र जनपथ प्रहरीले कंक्रिट र प्लाष्टिकबाट बन्ने डिभाइडरको विकल्पमा थोत्रा ड्रममा बालुवा भरेर नयाँ उपाय लगाएको हो ।
बेलकोटगढी नगरपालिका–७ महादेवफाँट नजिकै त्रिशुली नदीले कटान गरेको सडकमा यस्तो प्रयोग गरिएको छ भने ट्राफिक चेकप्वाइन्टहरुमा पनि डिभाइडरको विकल्पमा ड्रमकै प्रयोग गरिएको छ ।
ड्रममा बालुवा भरेर कृतिम डिभाइडर बनाउँदै ट्राफिक संकेत मिलाउँदै गर्नुभएका तारुका प्रहरी चौकीका प्रहरी नायव निरिक्षक दीपेन्द्र चौधरी भन्नुहुन्छ–‘प्लाष्टिकको साना डिभाइडर हावाहुरीले पनि उडाइदिन्छ, त्यसमाथी पनि हामीसँग प्रसस्त्र छैन । चालकले परबाट नै सँकेत देख्न सक्ने भएकोले कृत्रिम डिभाइडर बनाएर प्रयोग गरिरहेका छौं ।’
गल्छी–त्रिशुली सडकको अधिकांश भाग त्रिशुली नदी किनारमा पर्छ । गत साउन २४ गते विहान त्रिशुली नदीले कटान गरेर महादेवफाँटमा सडकको छेउ भागमा डुँड परेको छ । झट्ट देख्दा सडकमा पिँच देखिएपनि नदीले कटान गरेको कारण सडक तल्लो भागमा डुँड बनेको स्थानमा लोड गाडी गुडाउँदा सडकनै भासिएर दूर्घटना हुनसक्ने जोखिम रहेकोले महादेवफाँटमा कृतिम डिभाइडर राखेर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
यस्तो जोखिमपूर्ण ठाउँमा डिभाइडरको विकल्पस्वरूप बालुवा भरेर अड्याएको ड्रममा ट्राफिक संकेतसमेत राखिएको छ, जसले चालकलाई सजग बनाउन सहयोग गर्ने प्रहरीको भनाई छ । ‘ड्रम प्रयोग गर्दा तत्कालीन अवस्थामा सडक सुरक्षित बनाउन सकिन्छ, यसले सवारीसाधनलाई निर्धारित लेनअनुसार चल्न बाध्य बनाउँछ र ठूला दुर्घटना रोक्न सहयोग पुग्छ’, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक श्रीकृष्ण बानिया भन्नुहुन्छ–‘ड्रममा बालुवा भरिएको कारण गाडी ठोक्किए पनि ठुलो क्षति नहुने, सजिलै सार्न वा स्थानान्तरण गर्न सकिने, तत्कालीन असुरक्षित सडकमा प्रभावकारी बनेको छ ।’
गल्छी–त्रिशुली सडक खण्ड स्वयं भौगोलिक हिसाबले संवेदनशील मानिन्छ । वर्षा लागेसँगै कल्चौडेभीर, बुधसिङघाटलगायत स्थानहरुमा पहिरो खस्ने जोखिम अत्याधिक छ ।
स्थानीयवासीले पनि ट्राफिक प्रहरीले गरेको प्रयासको प्रशंसा गरेका छन् । सडक खतरनाक देखिएको ठाउँमा ड्रम राखिदिँदा चालक सजग हुने र दुर्घटनाको सम्भावना कम हुने भएकाले यो अभ्यास अन्य जोखिमपूर्ण सडक खण्डमा पनि प्रयोग गर्न स्थानीयहरुले सुझाव दिएका छन् ।
यसरी तत्काल डिभाइडर राख्न नसकिने अवस्थामा प्रहरीको यस्तो वैकल्पिक पहलले यात्रु, चालक र स्थानीयवासी सबैलाई राहत दिने देखिएको छ ।

प्रतिक्रिया