२९ साउन, नुवाकोट । निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) विदुर नगर कार्यसमितिले विदुर नगरपालिकाका नगर उपप्रमुख प्रभा बोगटीमार्फत नगरप्रमुख राजन श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ ।
शिक्षा ऐन २०२८ लाई संसोधन गरेर बन्न लागेको शिक्षा विधेयकमा समेटिएका केही बुँदाहरुमा आपत्ति जनाउँदै प्याब्सन विदुरले नगर उपप्रमुख बोगटीमार्फत नगरप्रमुख श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।
प्याब्सन विदुरका अध्यक्ष रामराजा कुमालले प्याब्सन केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम देशभरका पालिकाहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार स्थानीय तहमा ज्ञापनपत्र बुझाईएको बताए ।
उनले शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विद्येयक २०८०’ मा राखिएका केही बुँदाहरुमा आपत्ति जनाउँदै प्याब्सनले ज्ञापन पत्र बुझाईरहेको बताए ।
ज्ञापन पत्रमा निजी विद्यालयहरुलाई क्रमशः गैर नाफामुलक बनाईनेछ भन्ने वाक्याशं हटाईनुपर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाईनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिईनुपर्ने र छात्रवृत्ति अन्तरगत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाई शुल्क मात्रै कायम हुनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया