१७ जेठ, नुवाकोट । किस्पाङ गाउँपालिका-१ भाल्चेमा भएको एक दिने बृहत स्वास्थ्य उपचार शिविरमा तीनसय ६५ जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएका छन् ।
त्रिशूली अस्पतालको आयोजनामा भएको शिविरमा अस्पतालका निर्देशक डा. राजेन्द्र लामासहित आठजना विशेषज्ञ चिकित्सकसहित १८ जना स्वास्थ्यकर्मीको टोलीले बिरामीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण र उपचार गरेको थियो ।

शिविरमा हाइड्रोसिल, हर्निया तथा गाँठागुठी भएका बिरामीहरुको जाँच, परामर्श तथा शल्याक्रिया सेवा, मानसिक रोग सम्बन्धी उपचार तथा परामर्श, स्त्रीरोग तथा पाठेघर सम्बन्धी समस्याको उपचार तथा परामर्श र भिआइए सेवा, हाडजोर्नी तथा नसारोग सम्बन्धी उपचार तथा परामर्श, बालरोग सम्बन्धी उपचार तथा परामर्श, भिडियो एक्सरे/अल्ट्रासाउन्ड, जनरल मेडिसिन र रक्तचाप तथा सुगर जाँच सेवा प्रदान गरिएको डा. राजेन्द्र लामाले जानकारी दिए ।
शिविरमा चिकित्सकको पुर्जीअनुसार बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको त्रिशूली अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिए ।
शिविरमा किस्पाङ गाउँपालिका, वडा कार्यालय र भाल्चे स्वास्थ्य चौकी सहयोजक तथा समन्वय रहेको थियो ।

प्रतिक्रिया