३० माघ, नुवाकोट । एचपिभी खोपको राष्ट्रिय अभियान अन्तर्गत दुप्चेश्वर गाउँपालिकाका एक हजार ९८ जना किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएका छन् ।
गाउँपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार कक्षा ७ देखि १० सम्मका ८ सय २७ जना र विद्यालय नजाने ११ वर्षदेखि १४ वर्षसम्मका २७ जना किशोरीहरुले खोप लगाएको स्वास्थ्य प्रमुख बाशुदेव श्रेष्ठले जानकारी दिए ।
लक्ष्यभन्दा २७ जना किशोरीहरुले खोप लगाएको छ । जसमा घ्याङफेदी स्वास्थ्य चौकीमा ५ जना, गाउँखर्क, बेतिनी, राउतबेंसी र बालकुमारी स्वास्थ्य चौकीमा २/२ जना र समुन्द्रटार स्वास्थ्य चौकीमा ४ जनाले लक्ष्यभन्दा थपले खोप लगाएका छन् ।
गत माघ २२ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको अभियानमा खोप स्वास्थ्यकर्मी २५ जना र स्वयंसेवक ५० जना खटिएको गाउँपालिका प्रमुख एवं पालिका खोप समन्वय समितिका संयोजक शंकरबहादुर थापाले जानकारी दिए ।
यस्तै, नियमति एचपिभी खोपमा कक्षा ६ का २४१ जना र विद्यालय नजाने ३ जना गरी २४४ जना किशोरीहरुले खोप लगाएका छन् ।
गाउँपालिकाको वडागत सात स्वास्थ्यचौकीले सोहिअनुसारका विद्यालयलाई केन्द्र बनाई खोप अभियान सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया