२३ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार राष्ट्रिय किताबखाना (शिक्षक) को आकस्मिक अनुगमन गरेकी छिन् ।
अनुगमनका क्रममा मन्त्री भट्टराईले निवृत्तभरण प्रमाणपत्र बनाउने प्रक्रिया, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीसँग कार्यसम्पादनको प्रवाहका बारेमा जानकारी लिईन् । उक्त अनुगमनका क्रममा सेवाग्राहीहरूसँग पनि उहाँले सेवाको प्रभावकारिताबारे चासो राखेकी थिईन् ।
अनुगमनपश्चात् मन्त्री भट्टराईले राष्ट्रिय किताबखानाको कामका बारेमा बेलावेलामा गुनासाहरू आइरहने गरेको हुनाले आइन्दा गुनासा नआउने किसिमले काम गर्न निर्देशन दिईन् ।
शिक्षकहरूले पेश गरेको सिटरोलको डिजिटलाइजेसन समयमै सक्न र सिटरोल तथा निवृत्तिभरण र सम्पत्ती विवरणका अभिलेखहरूको भण्डारणका लागि तत्काल कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिईन् ।
अनुगमनका क्रममा राष्ट्रिय किताबखाना (शिक्षक)का उपमहानिर्देशक युवराज पौडेलले किताबखानाबाट हुने गरेका कामकारबाही र प्रक्रियाका बारेमा जानकारी गराएको थियो ।
उक्त अनुगमनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिव सापकोटसहितका ब्यक्तिहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया