२ पुस, बागलुङ । नेपाल इन्टरनेट फाउन्डेसनले बागलुङका दुई वटा ग्रामीण विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइका लागि कम्प्युटर, स्मार्ट बोर्ड र इन्टरनेट सेवा जडान गरेको छ ।
जनप्रिय आधारभूत विद्यालय र भीमादरबार आधारभूत विद्यालयमा फाउन्डेसनले डिजिटल साक्षरता विकास गर्न र विद्यार्थीहरूलाई थप शैक्षिक अवसरहरू सिर्जना गर्न उक्त पूर्वाधारहरू जडान गरेको हो ।
फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले प्रविधिमार्फत् शैक्षिक समानताका लागि संस्थाको प्रतिबद्धतामा र शिक्षा घरबाट सुरु हुने बताए ।
फाउन्डेसनले केही समय अगाडि गरेको एक अध्ययनमा ग्रामीण विद्यालयहरूमा आईसीटी पूर्वाधारको ठूलो आवश्यकता रहेको पाइएको थियो । त्यसपछि संस्थाले ग्रामीण विद्यालयमा आइसिटी पूर्वाधार जडान गर्ने परियोजना अगाडि बढाएको हो । यसलाई परियोजनालाई एपिनिक फाउन्डेसनको पनि सहयोग रहेको छ ।
दुवै विद्यालयमा सोलार प्रणाली पनि जडान गरिएको छ । जसले विद्युत नहुँदा पनि निरन्तर सेवा प्रदान गर्नेछ । विद्यालयमा स्थापना गरिएका कम्युनिटी इन्टरनेट एक्सेस सेन्टरहरूले स्थानीय समुदायलाई पनि नि:शुल्क वाइफाइ र डिजिटल पहुँच प्रदान गर्ने छन् । यसले सीप विकास र समावेशी शिक्षा प्रवर्द्धन गर्न सहयोग गर्ने आशा गरिएको छ ।
यो पहलले बागलुङको शैक्षिक विकास र डिजिटल सशक्तीकरणका लागि आधारशिला तयार गर्दै गुणस्तरीय डिजिटल शिक्षा प्रदान गर्न सक्षम हुने बताइएको छ ।





















प्रतिक्रिया