ढुङ्गे – माता मनकामना बचत तथा ऋण सहकारी संस्थाले आज शनिबार एक कार्यक्रमकाबीच आफ्नो ११औं वार्षिकोत्सव मनाएको छ । सहकारीले वार्षिकोत्सवको अवसरमा आफ्ना चार शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।
सहकारीले आजीवन ज्येष्ठ नागिरक सम्मानबाट विष्णुप्रसाद लम्साल र रामकृष्ण राजभण्डारीलाई सम्मान गरेको छ । यस्तै, सीता केसी र रूपा शाह ठकुरीलाई आजीवन एकल महिला सम्मानबाट पुरस्कृत गरेको छ ।
सम्मानित शेयर सदस्यहरुलाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, १ नम्बरका वडाअध्यक्ष लेनिन रञ्जित, नगर सहकारी समन्वय समितिका अध्यक्ष नविन्द्रमान प्रधान, नगरपालिका सहकारी शाखाका प्रमुख नानीमैया नेपालले नगद पुरस्कारसहित दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरेका छन् ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले एकै व्यक्तिले एकभन्दा बढी सहकारीबाट ऋण लिने र आफ्नो क्षमताभन्दा बढी ऋण लिई उपलब्धि, उत्पादनमुलकभन्दा पनि अर्कै क्षेत्रमा लगानी गर्ने अवस्थाका कारण सहकारी समस्याग्रस्त स्थितिमा रहेको बताए । नगरपालिकाले सहकारीको तालिम , नियमन, अनुगमन गर्ने कार्यक्रमहरु गरिरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
“वित्तीय व्यवस्थापनमा आमनागरिक पहुँचमा सहकारीको परिकल्पना भएकोमा साना बचतकर्ताको बचतमा विदुर नगरपालिकाले कुनै पनि सम्झौता गर्दैन”, नगरप्रमुख श्रेष्ठले भने “त्यस्तो गरिए नगरले कडाभन्दा कडा कारवाही गरिने छ ।”
कार्यक्रममा वडा अध्यक्ष लेनिन रञ्जित, सहकारी समन्वयका अध्यक्ष प्रधान, सहकारी शाखाका प्रमुख नेपालले सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणमा लाग्नुपर्ने बताए ।
यस्तै, सहकारीले आफ्ना सेयर सदस्यका लागि सहकारी शिक्षा तथा क्षमता विकास अभिमुखीकरण प्रशिक्षण दिएको छ ।
सहकारीको वार्षिकोत्सवको अवसरमा सहकारी शिक्षा कार्यक्रम अन्तर्गत सेयर सदस्यहरुलाई क्षमता विकास प्रशिक्षण दिइएको सहकारीका अध्यक्ष नवीन राजभण्डारीले बताए । सदस्यको क्षमता अभिवृद्धि तथा संस्थाप्रति अपनत्व बढाउन प्रशिक्षण सघाउ पुग्ने अध्यक्ष राजभण्डारीले बताए ।
५० जना शेयरसदस्यको सहभागिता रहेको प्रशिक्षणमा नुवाकोट बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष नारायण श्रेष्ठले सहकारी अवधारणा, विकासक्रम, सिद्धान्त र महत्व विषयमा प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया