विदुर – नुवाकोटमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी तीव्र पारिएको छ । यही चैत १५ गतेदेखि हुने उक्त परीक्षाका लागि तयारी तीव्र पारिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले जनाएको हो ।
प्राविधिक सहायक तथा सूचना अधिकारी सम्झना थपलियाका अनुसार परीक्षा सञ्चालनका लागि २३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । साथै परीक्षाको लागि केन्द्र पनि सार्वजनिक गरिएको छ ।
विगतमा छुट्टै परीक्षा केन्द्र निर्धारण गरिए पनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीहरुको परीक्षा नियमितको परीक्षा दिएकै विद्यालयमा गर्न केन्द्राध्यक्षहरुलाई नियुक्त गरिने छ । परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन नियुक्त केन्द्राध्यक्ष, सुरक्षा निकाय लगायतका लागि अभिमुखीकरण कार्यक्रम पनि तय गरिसकेको जनाइएको छ ।
यस वर्षको एसइई परीक्षामा जिल्लाका तीन हजार ९२२ विद्यार्थी सहभागी हुने भएकामा नियमिततर्फ तीन हजार ७१८, प्राविधिकतर्फ १२६ र ग्रेड वृद्धितर्फ ७८ विद्यार्थी सहभागी हुनेछन् ।
तथ्याङ्कअनुसार सामुदायिक विद्यालयमा विदुर नगरपालिकाको पृथ्वी माध्यामिक विद्यालयबाट सबैभन्दा बढी ७६ जना विद्यार्थीले परीक्षा दिदैछन् । यसैगरी निजीतर्फ विदुर नपाकै अर्किड एकेडेमी नुवाकोटबाट ७९ जना विद्यार्थीले परीक्षा दिदैछन् ।
यस वर्ष नयाँ कोर्स र परीक्षा प्रणाली अनुसार सो संख्यामा विद्यार्थी सहभागी हुन लागेका हुन् । गत वर्ष ८०० पूर्णाङ्कमा एसईई दिएका विद्यार्थीहरुले यस वर्ष ७०० पूर्णाङ्कमा दिँदै छन् भने कम्तीमा सबै विषयमा ३५ अंक ल्याउनेले मात्र कक्षा ११ पढ्न पाउने व्यवस्था गरिएको बताईएको छ ।
प्रतिक्रिया