विदुर – नुवाकोटको दुई स्थानमा बृहत् सेवासहितको नि:शुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । क्लब, सामाजिक संस्था र सामाजिक सञ्जाल समुहको संयुक्त आयोजनामा यहि मङ्सिर १४ गतेदेखि १६ गतेसम्म शिविरको आयोजना हुने जनाएको छ ।
स्वास्थ्य शिविरमा आदर्श जनकल्याण युवा क्लब, न्यू तुप्चे युवा क्लब, जन जागृत युवा क्लब, बत्रेश्वर समाज सुधार युवा क्लब, स्टार साहुगाउँ युवा क्लब, ड्रिम पाथ फाउन्डेसन नेपाल र काजी ग्रुप नुवाकोट आयोजक रहेको छ ।
दुई चरणमा हुने स्वास्थ्य शिविरको पहिलो चरणमा मङ्सिर १४ र १५ गते विदुर नगरपालिका-७ अक्करे स्थित ग्रामिण सामुदायिक स्वास्थ्य इकाईमा हुनेछ । यस्तै, दोस्रो चरणमा मङ्सिर १६ गते शिवपुरी गाउँपालिका-१ तलाखुस्थित ज्वालामुखी आधारभूत विद्यालयमा हुने जनाएको छ ।
शिविरमा स्त्रीरोग सम्बन्धि सम्पूर्ण चेकजाँच, ल्याब, साधारण चेकजाँच, दन्त परीक्षण, रेडियोलोजिष्ट, नाक कान घाँटी र पत्थरी, हाइड्रोसिल, हर्निया, गाँठागुठि सेवा उपलब्ध हुने आयोजक संस्था आदर्श जनकल्याण युवा क्लबका अध्यक्ष भीमसेन बोगटीले जानकारी दिए ।
आफ्नो घरआँगनमा हुने स्वास्थ्य शिविरबाट विभिन्न स्वास्थ्य समस्याबाटग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा राहतको अनुभव गर्ने स्वास्थ्य शिविर कार्यक्रम संयोजक नारायण प्याकुरेलको भनाई छ ।
प्रतिक्रिया