विदुर – विगत केहि सातादेखि रिक्त रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको प्रमुखमा सुकुमान डंगोल नियुक्त भएका छन् ।
आईतबार क्याम्पस सञ्चालक समितिको अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी डंगोललाई जिम्मेवारी दिएका हुन् ।क्याम्पस सञ्चालन समितिको विधानको परिच्छेद १५ को दफा ४ बमोजिम क्याम्पस अध्यक्ष श्रेष्ठले क्याम्पस प्रमुखमा डंगोललाई नियुक्त गरेका हुन् ।
उक्त परिच्छेदमा क्याम्पस प्रमुख रिक्त रहेको अवस्थामा अध्यक्षले कार्यबाहक क्याम्पस प्रमुख तोक्न पाउने अधिकार प्रयोग गरेर अध्यक्ष श्रेष्ठले डंगोललाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएका हुन् ।
डंगोल विदुर कल्याणकारी विद्या मन्दिर तथा विभिन्न वित्तीय संस्थाहरुमा आबद्ध रहेका छन् ।
क्याम्पस प्रमुख जितेन्द्र अर्यालले सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै पारिवारिक कारण देखाउँदै क्याम्पस प्रमुख पदबाट राजीनामा दिएको उल्लेख गरेका थिए । कानुनअनुसार क्याम्पस प्रमुखले सञ्चालक समितिको अध्यक्षलाई राजीनामा बुझाउनुपर्ने भएतापनि सञ्चालक समितिसँगको मनमुटावले राजीनामा दिएका कारण विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत राजीनामा दिन बाध्य भएको उल्लेख गरेका थिए ।
उनले २०७८ माघ ३ गतेदेखि क्याम्पसको प्रमुखको जिम्मेवारी पाएका थिए ।
प्रतिक्रिया