नुवाकोट – जिल्ला प्रशासन कार्यालयले घरभाडामा बस्ने व्यक्तिको परिचय खुल्नेसहितको विवरण नजिकैको प्रहरी कार्यालयलाई बुझाउनुपर्ने निर्देशन दिएको छ ।
घरभाडामा लिएर आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाईएको हुँदा त्यस्ता गतिविधिलाई नियन्त्रण गरि नागरिकको जीउधनको सुरक्षाको प्रत्याभुति गर्न तथा सुरक्षित र मर्यादित समाज निर्माण गर्नको लागि उक्त विवरण प्रहरीलाई बुझाउन निमित्त प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभएको छ ।
मंगलबार गृह मन्त्रालयले विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरू गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरूको भण्डारण र प्रयोग गरी विध्वंसात्मक एवम् अराजक गतिविधि गर्ने गरेको पाइएको जनाएको छ।
यस प्रकारको क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पार्ने भएकाले काठमाडौं उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घर भाडामा दिने र लिने व्यक्ति, संस्था, कार्यालयले दिने परिचय नजिकको प्रहरी कार्यालयमा जानकारी दिन गृहले सर्वसाधारणलाई अनुरोध पनि गरेको छ।

प्रतिक्रिया