दुप्चेश्वर, नुवाकोट – निःसन्तानलाई सन्तान दिने जनविश्वासले प्रसिद्वि पाएको नुवाकोटकै चर्चित र प्रमुख धार्मिक पर्यटकीयस्थल दुप्चेश्वर मेलाको तयारी पुरा भएको छ ।
सदरमुकाम विदुरदेखि ४५ किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गाउँपालिका-६ तादी खोलाको किनारामाथिको पहरोमा रहेको दुप्चेश्वरमा यस वर्षको मूख्य मेला भोलि सोमबार देखि बिहिबारसम्म लगिने आयोजक दुप्चेश्वर क्षेत्र संरक्षण समितिले जनाएको छ।
सन्तान प्राप्ति र त्यसमा पनि पुत्र नै लाभ दिने भगवानको रूपमा रहनुभएका दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने सबैभन्दा ठूलो पर्वको रूपमा लाग्ने धान्य पूर्णिमाको मेलाको रौनक विभिन्न स्थानबाट भक्तजनको आगमनले अहिलेदेखि नै रौनकता छाउन सुरु गरेको छ ।
मानिसहरूलाई सन्तानमा पुत्र नै दिने, बालबालिकको बोली नफुट्नेमा बोली फुट्ने, गाई–भैंसीलगायतका चौपायाहरू नब्याएमा भगवानको स्थानमा दाम्लो चढाएमा गर्भाधान हुनेलगायतका जे माग्यो त्यो सबै पूरा हुने जनविश्वासमा भक्तजनहरू आउने गरेको दुप्चेश्वर महादेव मन्दिरका पण्डित भगवानहरि धितालले बताउनुभयो।
राउतबेसीका स्थानीयवासी तामाङले पाल्नुभएको गाई तादी नदी किनारछेउस्थित भिरमा पुगेर बच्चा जन्माएर भगवान्लाई दूध चढाई बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेव स्थापनाको रूपमा पछिल्लो दुई सय वर्षभन्दा बढी समयदेखि पुज्दै आएका छन् ।
सर्वसाधारणले ‘जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रूपमा विश्वास गर्दै नुवाकोट, रसुवा, धादिङ, काठमाडौं हुँदै नेपाल तथा भारतलगायतबाट समेत भक्तजनहरू दुप्चेश्वर महादेवको मन्दिरमा पूजा आराधना गर्न आउने गरेको छ ।
समुन्द्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छटाएका श्रीमहादेव शिव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा वास बसेर रसुवाको गोसाइँकुण्ड गएको किंबदन्तीसमेत रहेको छ । दुप्चेश्वर महादेवलाई सानो पशुपतिनाथको रूपमा भक्तजनले पुज्नेसमेत गरेका छन् । मेलाको विशेष रौनक चतुर्दशी र पूर्णिमाको दिन हुने भए पनि एकादशीदेखि नै मुलुकको विभिन्न स्थानबाट भक्तजन दर्शन गर्न आएका थिए ।
दुप्चेश्वर महादेवलाई फागुपूर्णिमा, तिज, दशैं एवम् तिहार लगायतका पर्वमा धुमधामको साथ पुजिने गर्दछ । हिन्दु र बौद्ध धर्मालम्वीको महिमा र आस्थाको साझा शीरको रुपमा समेत परिचित रहेको छ ।
प्रतिक्रिया