२०८१, १२ बैशाख बुधबार

विकास निर्माणमा हातेमालो गरेर अघि बढ्न प्रचण्डको आग्रह

    जेष्ठ ४ २०७६ २२:१८

puspa kamal dahal prachanda nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

ककनी / नेकपाका अध्यक्ष एव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिकास निर्माणका एजेन्डामा सबै दल एकजुट हुनुको बिकल्प नभएको बताएका छन् ।

शनिबार ककनी गाउँपालिका–४ रानीपौवामा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’को उद्घाटन गर्दै अध्यक्ष दाहालले उक्त भनाई राखेका हुन् । प्रचण्डले देशमा भएको परिवर्तनलाई संस्थागत गरी मुलुकलाइ स्थायित्व प्रदान गर्न मिलेर काम गर्न सबै दललाइ आग्रह गरे । उनले केही कठिनाहीका कारण सरकारले सोचेजस्तो काम गर्न नसकेको स्वीकार गर्दै अवको वर्ष आर्थिक विकास र समृद्धिको वर्ष हुनेसमेत दावी गरे । अध्यक्ष प्रचण्डले कृषिलाई उद्योगको रुपमा रुपान्तरण गर्ने र कृषिमा लगमानी बनाउने वातावरण तयार नगरेसम्म देश आर्थिक रुपमा समृद्ध नहुने धारणा राखे ।

उनले विकास आयोजना सञ्चालन र ठेक्का प्रणालीमा निति नियमले पनि समस्या पारेको औंल्याउँदै सार्वजनिक खरिद ऐन र ठेक्का प्रक्रियामा केही त्रुटि रहेको बताए । ‘मेरै पहलमा यो ऐन संशोधन गर्ने निति बनेको छ, अध्यक्ष दाहालले भने– ‘खरिद ऐन संशोधनपछि केही सजिलो हुनेछ ।

तीनै तहले सञ्चालन गरेका योजना तथा कार्यक्रममा पारदर्शिता कायम गर्न नागरिकको खबरदारी आवश्यक रहेको बताउँदै अध्यक्ष प्रचण्डले खबरदारिको नाममा तथ्यलाई गतल साबित नगर्न समेत आग्रह गरे ।

कार्यक्रममा सोही क्षेत्रका सांसद हितबहादुर तामाङसहित प्रदेश सांसदहरुले काठमाडौँ–त्रिशुली सडकको विषय उठान गर्दै ठेक्का प्रक्रियामा गएको आठ वर्ष वितिसक्दा पनि यो सडकमा काम नभएको गुनासो गरेपछि अध्यक्ष प्रचण्डले सांसदहरुको जिज्ञासा समाधान गर्दै घरपेटीको नाममा कसैलाई उन्मुक्ती नहुने स्पष्ट पारे । ‘डेरा खोज्न जाँदा कति वटा ठेक्का छ, कति सम्पन्न भयो भनेर सोध्ने कुरा पनि भएन, प्रचण्डले भने– ‘फेरी म घरमा बसेपछि परेको ठेक्का पनि होइन रहेछ, यसको दोष पनि मैले नै खेप्नुपर्ने ?’

आफूले पनि बालाजुदेखि रानीपौवासम्म दुलाम्मे सडक पार गरेर आएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले ठेकेदारलाई कारवाहीको लागि अनुरोध गर्ने बताए । ‘म घरमा भाडामा बसेकै कारण कसैले गलत काम गर्दछ भने त्यसले उन्मुक्ति पाउँदैन’– प्रचण्डले भने । देश विकासको लागि नेता मात्र नभइ गाउँगाउँका सबै नागरिकले आफ्नो परिवार र गाउँको आर्थिक समृद्धिको लागि पहल गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा संसाद हितबहादुर तामाङले कृषिमा परिवर्तन ल्याउने साझा संकल्प नेपालीले लिए मात्र देश समृद्ध बन्ने बताए । ककनीमा भएको मेलाले राष्ट्रिय समृद्धिको अभियान सुरु भएको समेत दावी गरे । अर्का सांसद नारायणप्रसाद खतिवडाले नुवाकोट सबै किसिमका हावापानी र कृषि उब्जनीको लागि उर्वर भूमि भएको बताउँदै कृषि क्षेत्रको गुरुयोजना बनाएर अघि बढ्न सबैको सहयोगको अपेक्षा गरे । कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा. रामशरण महतले विकास निर्माणको अभियानमा सत्ता पक्ष र प्रतिपक्ष नहुने बताउँदै विकास निर्माणको काम हातेमालो गरेर अघि बढ्न सबैलाई आग्रह गरे । उनले गाउँपालिका तथा नगरपालिकाहरुमा योजना छनौट तथा कार्यान्वयनका लागि विपक्षी दललाई समेत सहभागी गराउन आग्रह गरे । ‘विकास निर्माणमा राजनीति भयो भने देश बन्दैन, डा. महतले भने– ‘विकासको लागि सबैको समान सहभागिता आवश्यक छ ।’

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य हिरानाथ खतिवडा, सांसद पम्फा भुषाल, प्रदेशसभा सदस्य केशव पाण्डे, बद्री मैनालीविदुर नगरपालिका प्रमुख सञ्जु पण्डित, ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामा, सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर तामाङ, बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुंगाना लगायतले आआफ्नो धारणा राखेका थिए ।

दिवङ्गत पोष्टबहादुर बोगटीको आदर्शलाई जनस्तरसम्म स्थापित गराउँदै कृषकलाई कृषि पेसामा आकर्षण बढाउने, विषादीरहित अर्गानिक कृषि उत्पादनमा जोड दिने, कृषिलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने र कृषि पैदावरलाई उपभोक्ता बजारको पहुँचमा पु¥याउन कृषि मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

‘कृषि पेशालाई आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायिककरण गरी कृषि उद्योगको विकास गरौँ । समृद्ध नेपाल, सुखी नेपालीको सपना सफल पार्न अगाडी बढौँ ।’ भन्ने नाराको साथ सञ्चालन मेलामा आ–आफ्नो उत्पादनको मौलिक पहिचान झल्किने गरी कृषिजन्य वस्तुको छुट्टछुट्टै स्टल रहेका छन् । मेलामा दुई सय ५६ जना किसानलाई पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा लोकगायक बद्री पंगेनीले साँस्कृतिक मनोरञ्जन दिलाएका थिए । पाँच दिनसम्म सञ्चालन हुने मेलामा हरेक गाउँपालिका तथा नगरपालिकाको आफ्नो पालिकामा उब्जनी हुने कृषि उपज तथा कृषि औजार र उपकरणहरु प्रदर्शनीमा राखिएको छ ।

कार्यक्रममा १ सय १७ वर्षिय बाटुली लामिछानेलाई प्रमुख अतिथि पुष्पकमल दाहाल प्रचण्डले सम्मानपत्रद्वारा सम्मान गरेका थिए । सोही अवसरमा शिवबहादुर भण्डारीद्वारा लिखित “केही ऐतिहासिक गढीहरु” नामक पुस्तकसमेत विमोचन गरिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top