२०८१, ११ बैशाख मंगलवार

९ वर्षको प्रतीक्षा राष्ट्रिय प्रशारणमा जोडियो थ्रि ‘ए’को विजुली

    जेष्ठ २ २०७६ २२:१२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / लामो समयको प्रतीक्षापछि माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत आयोजनाको ३० मेगावार्ट विद्युत राष्ट्रिय प्रशारणमा जोडिएको छ । ६० मेगावार्ट क्षमताको यो आयोजनाबाट असारभित्रै थप ३० मेगावार्ट विद्युत उत्पादन गरिने लक्ष्य लिइएको छ ।

नुवाकोटको किस्पाङ गापास्थित मनकामनाको सिम्लेमा रहेको विद्युत गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा रहेको सबस्टेशनमा ३० मेगावार्ट विद्युत शुक्रवार ५ बजेबाट परीक्षण उत्पादन राष्ट्रिय प्रशारणमा जोडिएको हो । पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने आयोजनाले जनाएको छ । नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘स्वीच अन’ गरेर आयोजनाको विजुली औपचारिक रुपमा राष्ट्रिय ग्रीडमा जोडेको प्राधिकरणले जनाएको छ ।

आयोजनाबाट शुक्रबार ५ बजेबाट लगातार ७२ घण्टे परीक्षण उत्पादन हुनेछ । त्यो सफल भएपछि यसले व्यवसायिक उत्पादन थाल्नेछ । १७ जेठ २०७१ (३१ मे २०१४)भित्रमा निर्माण सक्ने गरी सिजिजिसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको आयोजनाले ९ वर्षको लामो समयपछि विद्युत उत्पादन थालेको हो ।

हाल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ठेक्का चाइना वाटर एण्ड इनर्जी (सिडब्लुई)ले पाएको थियो ।

विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने र ६० मेगावार्ट लाई बढाएर ९० मेगावार्ट भन्ने भन्ने विवादका कारण आयोजना निर्माणको काम एक वर्ष रोकिएको थियो । भुकम्पले आयोजनाको पहुँच मार्गलगायतका संरचनामा क्षति पुगेपछि आयोजना निर्माणमा अन्यौलता बढेको थियो ।

भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद १७ वैशाख ०७६ (३० अप्रिल २०१९) सम्म थप गरेको थियो ।

माथिल्लो त्रिशूली ३ ए संचालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेको विद्युतको परिमाण घट्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । उनले त्रिशूली ३ ए पूर्ण रुपमा संचालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशतको योगदान रहने छ ।

किस्पाङ गाउँपालिका वडा नंं ५ स्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ को उत्पादनगृहदेखि काठमाडौँको मातातीर्थ सवस्टेशनसम्म प्रशारण लाइन विस्तार गरिएको हो । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणकार्य गत वैशाख १५ मा सम्पन्न भएको थियो । प्रसारण लाइनमा १४० खम्बा निर्माण भएको छ ।

उक्त प्रसारण लाइनमार्फत् नुवाकोट र रसुवाका दुई जिल्लामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’मध्ये त्रिशूली–गङ्गासहित तादी र त्रिशूली करिडोरका सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणको योजना छ । प्रशारण लाइन निर्माणमा दुई अर्ब ५० करोड खर्च भएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top