बेलकोटगढी / बेलकोटगढी नगरपालिका वडा नं. १० मा रहेको निरञ्जना माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव मंगलवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । विद्यालय प्रांगणमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा बोल्दै वक्ताहरुले साविक बेलकोट गाविसकै पुरानो विद्यालयको शैक्षिक गुणस्तर विकास गरी क्याम्पस लेवलको अध्यापन सुरु गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै पूर्व गाविस अध्यक्ष बासुदेव कँडुवालले विद्यालय स्थापनाको लागि उच्च योगदान दिने पूर्वजहरुको सम्झनासहित गुणस्तरीय शिक्षाको विकास नै अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले विद्यालयले उत्पादन गर्ने जनशक्ति जुनसुकै क्षेत्रमा पनि सक्षम हुने खालले उत्पादन गर्न सकेमा विद्यालयको सार्थकता हुने बताउनुभयो । कार्यक्रममा बोल्दै बेलकोटगढी नगरपालिका वडा नं. १० का अध्यक्ष पूर्णबहादुर त्रिपाठीले विद्यालयको हित र व्यवसायिक शिक्षाको लागि आफूले गर्न सक्ने सबै प्रक्रिया अघि बढाउन आफू तयार रहेको बताउनुभयो । उहाँले विद्यालयलाई उच्च शिक्षा हाँसिल गर्ने थलोको रुपमा विकास गर्नको लागि सबैको भूमिका महत्वपूर्ण रहेको स्पष्त पारे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवराज पाण्डेले विद्यालयको वार्षिक आयव्यय प्रस्तुत गर्दै विद्यालयले विगतदेखि अहिलेसम्म भोग्नु परेका समस्याको बारेमा चर्चा गर्नुभएको थियो । व्यवस्थापन समितिका अध्यक्ष राजकुमार रेग्मीले विद्यालयको शैक्षिक विकासको लागि व्यवस्थापन समितिले गर्नुपर्ने कुनै पनि काम बाँकी नराख्ने र सबै मिलेर अघि बढ्न सकेमात्र सोचेजस्तो नतिजा हाँसिल हुने बताउनुभयो ।
विद्यालयमा रुमटुरिडसहितका दाताले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको तथा पूर्व विद्यार्थी सुरेन्द्रप्रसाद भट्टको सहयोगमा विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्यावको स्थापना भएको तथा निरोज सेढाई परोपकार संस्थाबाट पनि सहयोग भइरहेको जानकारी गराइएको थियो ।
कार्यक्रममा निर्माण समितिका अध्यक्ष माधवप्रसाद पौडेल, बरदेवी आधारभुत विद्यालयका प्रधानाध्यापक केदारप्रसाद डोटेल, पूर्व विद्यार्थी सुरेन्द्रप्रसाद भट्ट, शिक्षक जीवराज कँडेल, वडा सदस्य राजाराम पाण्डे, गोकुल तिवारीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा कक्षागत पहिलो दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिक्रिया