काठमाण्डौ / आजदेखि नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका सम्पूर्ण सेवाहरु आज चैत्र १७ गते आईतबारदेखि सोसाइटीको कालीमाटी, रेडक्रमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा बनेको नयाँ भवनबाट सञ्चालन हुँदैछ ।
यसअघि २०७२ साल बैशाखको भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि २०७२ पौषदेखि आपत्कालीन सेवा केन्द्र बालकुमारी, ललितपुरबाट सेवा सञ्चालन हुँदै आएको थियो ।
“ सेवाकेन्द्रबाट हुदै आएका स्वयंसेवी रक्तदाताहरुबाट संकलन गरिएको रगतको परिक्षण र भण्डारण गर्ने र विरामीहरुको लागि आवश्यक रगतको प्रकार खुलेको चिकित्सकको पूर्जा लिईआएका सेवाग्राहीलाई रगत उपलव्ध गराउने कार्य चैत १७ गतेदेखि नयाँ सेवा भवनबाट हुने नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “यसका अलावा दाता व्यक्ति, संस्थाहरुबाट रक्तसंकलनको समन्वय, रक्तसंकलनको लागि उत्प्रेरणात्मक गतिविधि तथा देशभरका विभिन्न ७३ जिल्लाका १०८ स्थानमा रहेका नेरेसोका रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूको समन्वय तथा सहयोग लगायतको कामहरु पनि अवदेखि यहीँबाटै हुनेछ ।”
“सेवा केन्द्र सरेकोबारे सेवाग्राहीहरुलाई समयमै थाह दिन विभिन्न उपायहरु अपनाइएको छ । विभिन्न सञ्चारमाध्यम संगको अन्तरक्रिया, दाता संस्था तथा अस्पतालहरु र रक्तसञ्चारसम्बन्धी संघसँस्थाहरुलाई पत्राचार, नेपाल रेडक्रसको फेसबुक, ट्वीटर जस्ता सञ्जालमार्फत् प्रेषण र सार्वजनिक बोर्डहरुको व्यवस्था जस्ता उपायहरु अपनाइएको छ ।” रक्तसञ्चार सेवा केन्द्रका निर्देशक पवन गुप्ताले भन्नुभयो ।
अर्का निर्देशक मनिताराज कर्णिकारले ललितपुरको बालकुमारीबाट सेवा दिने क्रममा स्थान अभाव भई साँगुरो भएको, धेरै सेवाग्राहीलाई यातायात सेवाको दृष्टिले अपायक परेको गुनासो आइरहेकोमा थाइ रेडक्रसको सहायोगमा निर्माण भएको यो नयाँ भवनमा धेरै सेवाग्राहीलाई पायक पर्ने र सेवा दिन सहज हुने अवस्था रहेको बताउनुभयो ।
भूकम्पले क्षति बनाएको भृकुटीमण्डपमा भवन निर्मांणकार्य भइरहेको र सो अत्याधुनिक भवनको निर्माण सम्पन्न भएपछि त्यहिँबाट सेवा सुरुहुने जानकारी नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले दिनुभयो । उहाँले रक्तसञ्चार सेवा प्रदान गर्दा रगतको माग र आपूर्तिलाई सन्तुलन गर्न नेपाल रेडक्रस सोसाइटी लागिपरेको र रक्तदानमा सचेतना बढाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
२०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको हो ।