२०८१, ६ बैशाख बिहीबार

प्राविधिक शिक्षाको लागि आजबाट महोत्सव शुरु

    पुष २ २०७५ ०५:१५

Nuwakot Trishuli Mahotsab 2075
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

त्रिशुली, नुवाकोट / ‘विविध सांस्कृतिक मनोरञ्जनात्मक सस्तो बजार’ भन्ने मूल नारासहित आजदेखि प्रथम नुवाकोट त्रिशूली महोत्सव शुरु भएको छ ।

महोत्सवको उद्घाटन समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य सांसद नारायणप्रसाद खतिवडाले जिल्लाकै पुरानो विद्यालय भएकाले नयाँ शैक्षिक कार्यक्रम अनुसार विद्यार्थीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।

समारोहमा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले विद्यालयले आयोजना गरेको महोत्सव सफल हुुनु भनेको नुवाकोटका नागरिकका सन्तानले जिल्लामा प्राविधिक शिक्षाको अवसर पाउनु भएको बताउनुभयो । त्यस्तै, प्रदेशसभा सदस्य बद्री मैनालीले नुवाकोटका नागरिकले चाँडै विकासको स्वाद लिन सक्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले विद्यालयलाई नमूना बनाउनका लागि आयोजित महोत्सव सफल बनाउन सबै सरोकार भएकाहरुलाई आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीलगायतले महोत्सवको सफलताको शुभकामना दिनुभएको थियो ।

विद्यालयमा अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गत तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ विषयको पढाइ भइरहेको छ । विद्यालयमा इञ्जिनियरिङ पठनपाठन गराउनका लागि रु.४५ लाख लाग्ने भएकाले आर्थिक रकमको जोहो गर्न महोत्सव आयोजना गरिएको विद्यालयले जनाएको छ । २००७ मा स्थापित मावि तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय हो ।

महोत्सव पुस १० गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवमा २ सय स्टल रहेको छ । ३३ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । महोत्सवमा स्थानीय उत्पादन रहने स्टलमा २० प्रतिशत छुट रहेको छ । प्रवेश शुल्क रु.५५ रहेको छ भने बिद्यार्थीलाई रु.३५ रहको छ । ईन्जिनियरिङ कक्षा संचालनको लागि भएर अन्य छुटको व्यवस्था नगरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले बताउनुभयो ।

महोत्सवमा अन्तर विद्यालय खुल्ला नाच प्रतियोगिता पनि हुनेछ । प्रतियोगितामा प्रथम हुनेले रु.२० हजार, द्वितीयले रु १० हजार र तृतीयले रु ५ हजार प्राप्त गर्ने विद्यालयका सह-प्राध्यानापक राजेन्द्र दवाडीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top