विदुर / नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरको सरुवा भएको छ ।
२०७४ मङ्सीर ५ गतेदेखि नुवाकोटको प्रहरी नेतृत्व सम्हाल्दै आएका कुँवरको काठमाण्डौको महानगरीय प्रहरी कार्यालय रानिपोखरीमा सरुवा भएको हो ।
कुँवरले आफ्नो कार्यकालको १३ महिनामा भूकम्पबाट क्षति भएको प्रहरी चेकपोस्ट, ट्राफिक कार्यालय र आवास गृहको पुनर्निर्माण, नदिजन्य पदार्थहरुको अवैध उत्खनन नियन्त्रण, सदमुकाम विदुरमा बन्द भएको सिसिटिभी क्यामेरालाई पुन: संचालनमा ल्याई सुरक्षा निगरानीमा चुस्त पार्ने, महिला हिंसा नियन्त्रण, नागरिक सुरक्षा लगायत प्रहरी कार्यालयलाई नागरिकमैत्री, सेवाग्राही र वातावरणमैत्री बनाउन सफल भएका थिए ।
नुवाकोट प्रहरी प्रमुखको रुपमा कृष्ण पल्ली मगर आउने भएको छ । मगरले अर्को साताभित्रमै आफ्नो कार्यभार सम्हाल्नु हुने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसबीच कुँवरलाई जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी र नुवाकोट उद्योग वाणिज्य संघ नुवाकोटले पनि विदाई गरेको छ।

